close

रोहिणीमा बालिका बीमा कार्यक्रम सुरु

रोहिणीमा बालिका बीमा कार्यक्रम सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही- रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए । 

बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताए । उनले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गरिने बताए । यो कार्यक्रमबाट भु्रण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास गरिएको उनले बताए । 

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताए । बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभई बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने उनले बताए । 

यसका लागि कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार एकपटक राखिदिने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।