close

बर्दघाटका तन्नेरी पशुपालनमा लम्किँदै

बर्दघाटका तन्नेरी पशुपालनमा लम्किँदै

Trulli
ADVERTISEMENT

पश्चिम नवलपरासी- बर्दघाट– २ चिसापानीका युवराज विक्रम राना सबेरै उठ्छन् । बिहान ५ नबज्दै आफ्ना फार्ममा पुग्ने उनको दिनचर्या छ । ‘फार्ममा पुग्यो । गाई दुहुयो’, राना भन्छन्, ‘त्यसपछि दूध बोकेर भुताहा डेरीमा पुग्यो ।’


तीनवटा गाईबाट सुरु गरेको पशुपालन फस्टाउँदै गएपछि उनका गोठमा अहिले १२ वटा माउ गाई छन् । उनी अचेल १२ माउ गाईका मालिक भएका छन् । मिहिनेतले नै उनलाई सफल कृषक बनाएको हो ।


बिहानै मात्र होइन, बेलुका पनि यसरी नै मोटरसाइकलमा दूध बोकेर आफैँ डेरीसम्म पुग्छन् उनी । दूध बजारमा बिक्री गरेर फर्किएपछि गोठको काममा तल्लीन हुन्छन्, राना । 


सात वर्षअघि व्यावसायिक रुपमा पशुपालन सुरु गरेका राना यसबाट सन्तुष्ट नै देखिन्छन् । साना बाच्छाबाच्छी सबै गर्दा गोठमा २२ वस्तुभाउ छन् । राना भन्छन्, ‘तीनवटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायबाट गोठ भरिएको छ । गोठमा गाईको स्याहार सुसारमा निरन्तर जुटिरहेका हुन्छन् ।’


२०७० सालमा करिब चार लाख रुपैयाँबाट गाईपालन सुरु गरे पनि कृषि क्षेत्रमा अधिक लागत मूल्यका कारण मुनाफा धेरै नभएको अनुभव रानाको छ । पशु पाल्दा हुने लागत मूल्यका कारण नाफा हुन नसकेको उनको ठम्याइ छ ।

 
‘दूधको मूल्यको हिसाब सबैले गर्छन् तर दानापानी र अन्य खर्चको हिसाब कसैले गर्दैन’, राना भन्छन्, ‘दाना र चोकरको भाउ दिनदिनै बढेको बढ्यै हुन्छ । दूधको भाउ भने एक दुई वर्षमा एकचोटि बढ्छ । आर्थिक उपार्जनका हिसाबले भनेजति सन्तुष्ट हुने अवस्था अझै छैन ।’


उनको मिहिनेतबाट छिमेकीहरू पनि दंग छन् । ‘रानाले पशुपालनमा तरक्की गरेका छन्’, स्थानीय पुष्पा गिरी भन्छिन्, ‘मिहिनेतको फल फार्ममा गाई थपिएका छन् ।’ 


रानाले वडा कार्यालयबाट पानी तान्ने मेसिन, स्प्रे र नगरपालिकाबाट गाई बस्ने म्याट पाएका छन् । किसान पशुपालन कृषि फार्ममार्फत उनले पशुपालनलाई अगाडि बढाएका छन् । 


पशुपालन गर्ने सोचले सल्लाह लिन उनीकहाँ मानिस आइरहन्छन् । रानाले आफ्नो किसानी अनुभव स्थानीयलाई बाँड्छन् । 


कृषि तथा पशुपालनमा अध्ययन र तालिमविनै धेरैले हामफालेको र व्यवसाय चलाउन नसकी ऋणमा डुबेको उनको बुझाइ छ ।


दैनिक ७ हजार लिटर दूध उत्पादन


पशुपालन क्षेत्रमा नगरपालिकाले नगरभित्रका कृषकलाई सहयोग गरिरहेको नगरप्रमुख धीरज शर्मा बस्याल बताउँछन् । कृत्रिम गर्भाधानमा अनुदानदेखि लिएर गोठ सुधारका कामसम्म र उन्नत घाँस उत्पादनमा समेत अनुदान दिएको बस्यालले जानकारी दिए ।


‘प्रविधिसँग किसान कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा औजार प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छौँ,’ प्रमुख बस्यालले भने । नगरले कोरोना महामारीको संकटकै बेला घाँस, बिउबीजन राहतस्वरुप प्रदान गर्दै आएको छ । नगरको पशुपक्षी विकास शाखाका प्रमुख भरत लम्सालले नगरमा दैनिक सात हजार लिटर दूध उत्पादन हुने बताए ।


‘गाईका ५५ फार्मसहित गाईभैँसीबाट १४२ कृषकले दुग्ध उत्पादन गरिरहेका छन्’, उनी भन्छन्, ‘शाखाले साधन–स्रोतले भ्याएसम्म सहयोग गरेकै छ । प्राविधिक परामर्श पनि दिइरहेकै छौँ ।’ 


संकलित दूधको अवस्था हेर्दा नगर दूधमा आत्मनिर्भरको अवस्थामा पुगिसकेको र त्यसको अध्ययन भइरहेको लम्सालले जानकारी दिए । प्रदेशका संगठित संस्थामार्फत प्रतिलिटर १० रुपैयाँ दूधमा अनुदानसमेत दिएको बर्दघाट नगरपालिकाले बताएको छ ।


कोरोना संक्रमणका कारण विदेशबाट फर्किएका युवाहरूको आकर्षण कृषितिर देखिन्छ । 


बीज वृद्धि कार्यक्रम 


बर्दघाट नगरपालिका पशुपक्षी विकास शाखाले आव २०७७÷०७८ को स्वीकृत योजनाअनुसार घाँसको बिउ उत्पादन कार्यक्रम सम्पन्न भएको छ । 


नगरसभाबाट स्वीकृत कार्यक्रम लक्ष्यअनुसार यस वर्ष आठ कृषकले आठ बिघामा जै घाँसको बिउ उत्पादनका लागि घाँस खेती सुरु गरेका छन् ।  


स्थानीय स्तरमा नपाइने घाँसको बिउका लागि छिमेकी जिल्ला तथा भारतको भर पर्नुपर्ने अवस्थामा नगरले यस वर्षदेखि जै घाँसको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको हो । 


कार्यक्रमअनुसार बिउ उत्पादनका लागि नगरले कृषकलाई १०० किलो मूल बिउ, १०० किलो रासायनिक मल, बाली संरक्षणका निम्ति एक थान इलेक्ट्रिक स्पेयरलगायत सामग्री उपलब्ध गराएको शाखाले जनाएको छ  ।


कार्यक्रमबाट नगरमा घाँसको बिउ उत्पादन सुरु भएको छ । बिउ उत्पादन भएपछि स्थानीय र जिल्ला दररेटअनुसार पालिकाले नै खरिद गरिदिने गरी कृषकलाई प्रोत्साहन गरिरहेको छ । 


२० कृषक उद्यमी बिउ उत्पादनमा संलग्न भए नगरलाई घाँसको बिउमा आत्मनिर्भर बनाउन सकिने नगरपालिकाको अनुमान छ ।