close

तिलोत्तमाले तोक्यो धानको मूल्य 

तिलोत्तमाले तोक्यो धानको मूल्य 

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरका साना किसान कृषि सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरू किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्न  तयार भएका हुन् ।

 

संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि कार्यान्वयन नभएपछि तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा सहजीकरण गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

 

संघीय सरकारले गत २ जेठमा चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । 

 

साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशिका जारी गरे पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् । 


नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ साना किसान कृषि सहकारीहरू किसानको धान खरिद गर्न सहमत भएका हुन् ।

 

नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायत विषयमा छलफल गरेको थियो । छलफलपछि सहकारीका पदाधिकारीहरू नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका स्थानमा खरिद गर्न तयार भएका हुन् ।

 

यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्नेछन् । किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल १सय १२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ ।

 

कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो । धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।


नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसान र व्यापारीलाई सरकारी दररेटअनुसार खरिद गर्न निर्देश गरेको छ । 

 

सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलाई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा १ प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन् ।

 

न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने नगरपालिकाको भनाइ छ ।


कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्ड स्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ । हाल तिलोत्तमामा टिकुलिगढ, गंगोलिया, करहिया, मधवलिया, शंकरनगर, आनन्दवन साना किसान सहकारी संस्था छन् ।

 

नगरले  आवश्यक सल्लाह, धान खरिद बिक्रीलगायत प्रक्रिया अगाडि बढाउन  तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसाल,  सहकारी साना किसान संस्थाका प्रतिनिधिलाई सम्पर्क व्यक्ति तोकेको छ ।