close

मेरिङ्देनको सबै सामाजिक सुरक्षा भत्ता अब बैंकमार्फत 

मेरिङ्देनको सबै सामाजिक सुरक्षा भत्ता अब बैंकमार्फत 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताबापतको रकम बैंक खातामार्फत भुक्तानी गर्न एनसीसी बैंकसँग सम्झौता गरेको छ । यस गाउँपालिकामा एनसीसी बैंकले बैंकिङ कारोबार सुरु गरेपछि गाउँपालिका र बैंकबीच सामाजिक सुरक्षा भत्ता वितरणसम्वन्धी द्विपक्षीय सम्झौता भएको हो ।

 

गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू र उपाध्यक्ष कल्पना तुम्बाहाम्फेको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत कारोबार गर्नेगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बे र एनसीसीका मेरिङ्देन शाखा प्रबन्धक दिनेश घिमिरेबीच समझदारी भएको छ । 


प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बैंकसँग सम्झौता भएपछि अब पालिकाभित्रको सबै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत नै भुक्तानी हुन थालेको बताए । मेरिङ्देनमा अहिले सामाजिक सुरक्षा भत्ता पाउनयोग्य ७८२ जना छन् । 


आङ्देम्बेका अनुसार मेरिङ्देन वडा- १ थिङ्लाबुमा १५५ जना, वडा- २ सान्थाक्रामा २०९ जना, वडा- ३ खाम्लुङमा ६३ जना, वडा- ४ लिङ्तेपमा १०१ जना, वडा- ५ थुकिमामा १४९ जना र वडा- ६ नाल्बुमा १०५ जना सामाजिक सुरक्षा भत्तावाहक छन् । यो संख्या ६० वर्षमुनिका र आर्थिक रूपमा विपन्नले पाउने अन्य सुविधा प्राप्तकर्ताभन्दा बाहिरको हो ।