close

आइसोलेसनमा पनि सेवामै व्यस्त छन् वडाध्यक्ष 

आइसोलेसनमा पनि सेवामै व्यस्त छन् वडाध्यक्ष 

Trulli
ADVERTISEMENT

बाग्लुङ - २९ असोजमा आइसोलेसनमा शंकास्पद बिरामीको रुपमा भर्ना भएकी काठेखोला गाउँपालिका- ८ लेखानीकी अध्यक्ष चित्रकला श्रीषलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भयो ।

 

काठमाडाैंबाट गाउँ फर्किएकी श्रीषको स्वास्थ्य असामान्य भयो । नजिकैको स्वास्थ्य केन्द्रमा गरिएको उपचार र घरमै ९ दिनसम्म एकान्तबास बस्दा केही नलागेपछि धौलागिरी अस्पतालमै २३ दिन कटाइन् । 


त्यसयता उनी अस्पतालको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेकी छन् । आइसोलेसनमा रहेकी श्रीष आफ्नो मात्रै ख्याल गर्दिनन्, अन्य बिरामीको हेरचाहमा उत्तिकै सक्रिय छिन् । उनी मात्रै होइन, बाग्लुङ नगरपालिकाले रातमाटामा बनाएको आइसोलेसनमा नगरका संक्रमित स्वास्थ्यकर्मी डिल्ली आचार्य पनि अरु बिरामीको रेखदेखमा खट्छन् ।


नाम नखुलेका बाग्लुङ बजारका एक व्यवसायी र अधिकारकर्मी महिलाले समेत आइसोलेसनमा भएका अरु बिरामीको रेखदेख, सोधखोज र हौसला बाँड्ने काम गरिरहेका छन् ।


‘मैले घरमै अप्ठ्यारा दिनहरू कटाएँ । अस्पताल आएपछि कुनै समस्या छैन । पोजेटिभ रिपोर्ट आइरहेकाले बाहिर निस्किन पाएकी छैन,’ वडाध्यक्ष श्रीष भन्छिन्, ‘बिहीबार हाम्रै गाउँका एक बुबा संक्रमित भएर आउनुभो । उहाँलाई स्याहारको खाँचो छ । हेरेर बस्न मन मानेन र सेवामा जुटिहालें ।’

 

अस्पतालले बिरामीको अक्सिजन हेर्ने अटोमेटिक मेसिन दिएको छ । सोही मेसिनको माध्यमबाट अक्सिजन हेर्ने र अन्य समस्या भए-नभएको विषयमा उनीहरू पटक-पटक सोधीखोजी गर्छन् । ‘सावधानीका साथ ख्याल गरिरहेका छौं,’ श्रीष भन्छिन् ‘राम्रोसँग मास्क, पन्जा लगाउने र भेटेपछि साबुनपानीले हात धुने गर्छौं ।’ 

 

सँगै रहेका गम्भीर खालका बिरामीको ख्याल गर्नु मानवीय दायित्व भएको उनीहरू सुनाउँछन् । केही महिनाअघि आइसोलेसनमा पूर्ण सुरक्षित भएका स्वास्थ्यकर्मीबाहेक क्लोज सर्किट टेलिभिजन र मोबाइल फोनको माध्यमबाट मात्रै बिरामीको रेखदेख हुन्थ्यो । 

 

कोभिड–१९ का बिरामीको नजिक पर्न सबै डराउँथे । तर, पछिल्लो समय आइसोलेसनमै रहेका बिरामीले एकअर्कालाई सघाउन थालेका छन् । ‘हौसला मात्रै दिन सकियो भने पनि साथ पाएको महसुस हुन्छ । यस्तो बेला चाहिने साथ हो,’ श्रीष भन्छिन्, ‘पहिले त बन्द कोठाबाट बाहिर निस्किनै दिएनन्, अहिले यस्तो छैन । आसपासका बिरामीमा हौसला दिन सकिन्छ ।’ 

 

उनले पछिल्लो पटक रेखदेख गरिरहेका संक्रमित ६५ वर्षीय पुरुष हुन् । उपचारका लागि भरतपुर पुगेका बेला उनलाई कोरोना संक्रमण भएको हो । पहिला तीन दिन बाग्लुङ नगरको आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा जटिलता देखिएपछि धौलागिरि अस्पतालमा सारिएको छ ।


अक्सिजनको कमीका कारण बुधबार अक्सिजन लगाएपछि उनको स्वास्थ्यमा सुधार आएको छ । पछिल्लो विवरणअनुसार धौलागिरी अस्पतालको आइसोलेसनमा १२ जना संक्रमित छन् । बाग्लुङ नगरपालिकाको रात्माटा आइसोलेसन केन्द्रमा भने सात बिरामीले स्वास्थ्यलाभ गरिरहेका छन् ।