close

दिप्रुङमा कृषि सहकारी महासंघ

दिप्रुङमा कृषि सहकारी महासंघ

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा बिउबिजन बैंक सञ्चालनका लागि कृषि सहकारी महासंघ गठन गरिएको छ । किसानले चाहेको समय अन्न, तरकारी तथा फलफूललगायत आवश्यक बिउबिजन कृषि सहकारीमार्फत उपलव्ध गराउने लक्ष्यसहित कृषि सहकारी महासंघको तदर्थ समिति गठन गरिएको हो ।

 

गाउँपालिका उपाध्यक्ष सपना राई एवं चुइचुम्मा कृषि सहकारीका कोषाध्यक्ष मदन खत्री देवकोटा अध्यक्षताको बैठकले पालिकाभरका ६ कृषि सहकारी संस्थालाई समेटेर महासंघ गठन गरेको हो ।

 

कृषि सहकारी महासंघका तदर्थ समितिको अध्यक्षमा पवन राई, उपाध्यक्षमा कृष्ण कार्की, सचिवमा राजन खड्का, सह-सचिवमा रामचन्द्र राई, कोषाध्यक्षमा नैनकुमारी खत्री र सदस्यमा शारदा देवकोटा चयन भएका छन् । 

 

कृषि सहकारीमार्फत बिउबिजन बैंक सञ्चालन गरेर किसानलाई आवश्यक परेको समय बिउ उपलब्ध गराइनेछ । केही समयअघि गाउँपालिका र कृषि सहकारीका सञ्चालकबीचको छलफलमा गाउँपालिका स्तरिय कृषि सहकारी महासंघ बनाएर सोहीमार्फत बिउबिजन बैंक सञ्चालन गर्ने निर्णय भएको थियो ।

 

किसानलाई आवश्यक पर्ने बिउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बिउबिजन बैंक सञ्चालन तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

 

‘अन्यत्रबाट ल्याइएका कतिपय बिउ नउम्रने, उम्रे पनि फल नदिने, नसप्रनेजस्ता समस्या पनि देखिएपछि आफ्नै ठाउँमा उत्पादित बिउ संकलन र भण्डार गरेर किसानलाई बिक्री गरिनेछ’, अध्यक्ष राईले भने ।

 

मकै, धान, गहुँ, जौ, आलु, तरकारी, प्याज, फलफूललगायतको  बिउबिजन बैंक स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम नै पारित गरेको थियो । पालिकाभित्र बिउबिजन बैंक सञ्चालन गर्दा बिउ खरिदका क्रममा बाहिरिने रकमलाई गाउँमै रोक्न सकिने गाउँपालिका अध्यक्ष राईले दाबी गरे ।

 

कृषि सहकारीमार्फत चालू आर्थिक वर्षदेखि नै किसानलाई बिउ उपलब्ध गराउने गाउँपालिकाको तयारी छ । ‘स्थानीय सरकारले बेला-बेला किसानलाई बिउ बाँडिरहनुपर्छ । त्यो बिउ किन्न सधैं तराई वा अन्यत्र पुग्नुपर्ने बाध्यता छ ।

 

यही ठाउँमा भण्डारण गर्न सकिए बिउमा भइरहेको परनिर्भरता हटाउन सकिन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हावापानी नमिल्दा बाहिरबाट ल्याएको बिउ नउम्रने, उम्रे पनि नफल्ने समस्या हुँदो रहेछ । यही ठाउँको बिउ भए हावापानी पनि मिल्छ । अर्कातर्फ बिउ खरिदमा बाहिरिने पैसालाई यही ठाउँमा रोक्न पनि सकिन्छ ।’ 

 

बिउबिजन बैंक सञ्चालन गर्दा स्थानीय रैथाने जातका अन्नको संरक्षणमा टेवा पुग्ने दाबी गाउँपालिकाको छ । कृषि सहकारीले बिउ बैंकमार्फत किसानलाई हाइब्रिड बिउसमेत उपलव्ध गराउने व्यवस्था मिलाउनेछ । 
 

बिउबिजन बैंकबाट वितरण हुने बिउ गुणस्तरीय हुनुपर्नेछ । यसका लागि कृषिविज्ञबाट गुणस्तर परीक्षणको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।