close

वेबसाइट नै अद्यावधिक गर्दैनन् ताप्लेजुङका पालिका

वेबसाइट नै अद्यावधिक गर्दैनन् ताप्लेजुङका पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - चालू आर्थिक वर्षको करिव आधाउधी समय गुज्रिसक्दा पनि ताप्लेजुङका नौवटामध्ये तीनवटा स्थानीय तहले आफ्नो वेबसाइटमा चालू वर्षको नीति, कार्यक्रम तथा बजेट स्पष्ट रूपले राख्न सकेका छैनन् । 


छवटा स्थानीय तहले भने आफ्नो वेबसाइटमा चालू वर्षको नीति, कार्यक्रम तथा बजेट राखेका छन् । मिक्वाखोला गाउँपालिकाले आफ्नो वेबसाइटमा चालू वर्षको नीति, कार्यक्रम तथा बजेट राखेको छैन । उसको वेबसाइट खोल्यो भने गत आर्थिक वर्षकै नीति, कार्यक्रम तथा बजेट विवरण आउँछ । 


मेरिङ्देन गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट मात्र राखेको छ । उसले चालू आवका लागि तय गरेको नीति तथा कार्यक्रम पालिकाको वेबसाइटमा छैन । पाथीभरा याङ्वरक गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को राजस्व तथा खर्च अनुमानको सारांश मात्र वेबसाइटमा राखेको छ । उसले चालू आवका लागि तय गरिएको नीति, कार्यक्रम तथा बजेट वेबसाइटमा राखेको छैन । 


फुङ्लिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, सिदिङ्वा, सिरिजङ्घा, फक्ताङ्लुङ र आठराई त्रिवेणी गाउँपालिकाले भने आफ्नो वेबसाइटमा चालू वर्षको नीति, कार्यक्रम तथा बजेट राखेका छन् । 

 

स्थानीय तहले मोटो रकम लगानी गरेर सूचना प्रविधिविज्ञ नियुक्त गरेका छन् । उनीहरूको काम भनेको पालिकाभरको सूचना तथा प्रविधिको क्षेत्रका दैनिकी कार्य सम्पादन गर्नु हो । पालिकाको वेबसाइट बनाउन तथा त्यसको नवीकरणका लागिसमेत स्थानीय तहले राज्यको मोटो रकम खर्चिएका छन् ।

 

तर, अधिकांश पालिकाहरूको वेबसाइट नियमित अद्यावधिक भएको हुँदैन । यहाँका सबै पालिकाले नियमित रूपमा आफ्ना दैनिकीहरू वेबसाइटमा अद्यावधिक नगरेका पाइएको छ । 


अधिकांश पालिकाहरूको मिल्दोजुल्दो काम भनेको पालिकामार्फत प्रकाशन भएका सूचनाहरू भने अद्यावधिक हुनु हो । तर, त्यो नियमित तवरले सबै सूचनाहरू वेबसाइटमा राखिएको भने हुँदैन । पालिकाहरूका वेबसाइटमा आफ्ना पालिकाभरका सबै जनप्रतिनिधिको फोटोसहितको विवरण छैन । 


केही पालिकाहरूले प्रमुख-उपप्रमुख अध्यक्ष-उपाध्यक्ष तथा वडा अध्यक्षसम्मको फोटोसहितको विवरण मात्र वेबसाइटमा राखेका छन् भने कसैले कार्यपालिका सदस्यसम्मको फोटोसहितको विवरण राखेका छन् ।

 

कसैले पालिकाभरका सबै सदस्यहरूको नाम राखे पनि उनीहरूको पूर्ण विवरण बताउने फोन नम्बर, ईमेल तथा फोटोसहितको विवरण भने कुनै पनि पालिकाको वेबसाइटमा राखिएको छैन । यहाँका अधिकांश पालिकाको विद्युतीय सुशासन सेवाअन्तर्गत राखिनुपर्ने घटना दर्ता, सामाजिक सुरक्षा, नागरिक बडापत्र र नमुना फारमको महल खाली देखिन्छ । 


मासिक, चौमासिक र वार्षिक प्रतिवेदनसहित लेखापरीक्षण, अनुगमन, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र सार्वजनिक परीक्षणका महलहरू पूरै खाली छन् । केहीले प्रतिवेदनहरू राख्ने कोसिस गरे पनि अघिल्लो आर्थिक वर्षका मात्र बढी देखिन्छ।


जनहितका लागि पालिकाले गरेका निर्णयहरू पनि पालिकाको वेबसाइटमा नियमित अद्यावधिक भएको देखिँदैन । फोटो फिचरझैँ पालिकाले नियमित रूपमा गरेका क्रियाकलापको फोटो राख्ने कोलम ग्यालरीमा कुनै पालिकाले दुई-तीन महिनाअघिका क्रियालापका फोटो राखेका भेटिन्छन् भने कुनैको त वर्षअघिका पुराना भेटिन्छन् ।