close

जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउँदै तिलोत्तमा

जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउँदै तिलोत्तमा

Trulli
ADVERTISEMENT

रूपन्देही - तिलोत्तमा नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको छ । वडा नं.- १२ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको हो ।


वडा नं.- १२ को मोहनाजोत भाटामा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्‍याउने नगरको नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीब्रता पाएको हो ।


चालू आर्थिक वर्षमै वडा नं.- ९ मा समेत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ । स्वास्थ्य केन्द्रका आफ्नै सुविधा सम्पन्न भवनहरू पनि निर्माण भइरहेका छन् । हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएका छन् ।


आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्‍याउने सरकारी नीतिअनुरूप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरवासीलाई आग्रह गरे ।


आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरू उपलब्ध छन् ।