close

हलेसी तुवाचुङको कृषकलाई उपहार

हलेसी तुवाचुङको कृषकलाई उपहार

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई बिउ तथा कृषि सामग्री वितरण सुरु गरिरेको छ । नगरपालिकाको आग्रहमा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा किसानलाई कृषि सामग्री तथा बिउ वितरण सुरु गरिएको हो । 


नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई हिल ट्यांकी, प्लास्टिक टनेल, सिड-स्प्रे, हजारी र बिउबीजन वितरण सुरु गरिएको नगरप्रहुख इवन राईले बताए । 


गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका यहाँका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा चार हजार ५३ घर किसानलाई दुई करोड ४४ लाख रुपैयाँ बराबरको कृषि सामग्री एवं बिउ उपलब्ध गराइएको हो । किसानले रोजेको कृषि सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरप्रमुख राईले बताए ।

 

तुवाचुङ नगरपालिका- १० अर्खौलेबाट वितरण सुरु गरिएको छ । मंगलबार अर्खौैलेका ३२५ जना किसानलाई प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव नीरु दाहाल पाण्डे, नगरप्रमुख राई, उपप्रमुख बिमला राईलगायतले कृषि सामग्रीका साथमा बिउबीजन वितरण गरेका हुन् । 


कृषि सामग्री तथा बिउ क्रमशः ११ वटै वडाका किसानलाई वितरण गर्ने तयारी गरिएको छ । बाहुनीडाँडाका ३९४, डिकुवाका ३८०, च्यास्मिटारका ३९७, बडहरेका २८८, दुर्छिमका ४५४, मंगलटारका ३४०, महादेवस्थानका ३३३, धितुङका ३४५, सल्लेका २१६ र राजापानीका ५८१ जना कृषकलाई कृषि सामग्रीका साथमा बिउबीजन वितरण गरिने नगरपालिकाले जनाएको छ ।

 

‘गत वर्षको खाद्य संकटको समयमा हामीले संघीय सरकार, प्रदेश सरकार र एसडीसीलाई सहयोगका लागि आग्रह गरेका थियौँ । सोही आधारमा हामीलाई सहयोग प्राप्त भएको हो’, नगरप्रमुख राईले भने, ‘तर, हामीलाई संघीय सरकार र प्रदेश सरकारबाट सहयोग प्राप्त भएन ।’