close

शिक्षक सरुवामा राजनीति: गाउँपालिका भन्छ- कार्यान्वयन गर, वडा भन्छ- गर्दिन

शिक्षक सरुवामा राजनीति: गाउँपालिका भन्छ- कार्यान्वयन गर, वडा भन्छ- गर्दिन

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, शिक्षा समितिले २९ असोजमा शिक्षक दरबन्दी मिलान तथा सरुवासम्बन्धी निर्णय गर्‍यो । उक्त निर्णयअनुसार अधिकांश शिक्षक तोकिएको कार्यक्षेत्र जान तयार भए । 


एकाध शिक्षक अन्याय भएको भन्दै आफू सम्बद्ध शिक्षक संगठन गुहार्न पुगे । आफ्ना संगठनका शिक्षक अन्यायमा परेको भन्दै नेपाल शिक्षक संघ ओखलढुंगाले विज्ञप्ति निकालेरै सरुवा तथा दरबन्दी मिलानको विरोध गर्‍यो । 


त्यतिले पनि पार नलाग्ने देखेपछि मातृ पार्टी नेपाली कांग्रेसको चिशंखुगढी गाउँपालिका समितिले राजनीतिक आस्थाका आधारमा शिक्षक सरुवा गरेको भन्दै विज्ञप्ति मात्रै निकालेन, गाउँपालिकामा ध्यानाकर्षण पत्रै दियो ।
 
गाउँपालिकाको शिक्षा नियमावली तथा संघीय शिक्षा मन्त्रालयको परिपत्रका आधारमा गरिएको निर्णय कार्यान्वयन हुने जवाफ गाउँपालिकाले दिएपछि भने यो झमेला सत्तारुढ नेकपा भर्सेस कांग्रेस भएर वडासम्मै पुगेको छ । 


वडा-३ को वडा समिति बैठकबाटै निर्णय गरेर गाउँपालिकाको शिक्षक सरुवा तथा दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्न २१ कात्तिकमा विद्यालयहरूलाई पत्रिपत्र गरेको छ । आफ्ना वडाभित्रका ६  विद्यालयलाई वडाध्यक्ष गंगा श्रेष्ठले पत्र लेख्दै ‘सरुवा भएर आउनेलाई हाजिर नगराउन र जानेलाई रवाना नदिन’ निर्देशन दिए ।


सामान्यतः वडालाई गाउँपालिकाको निर्णय कार्यान्वयन गर्ने, प्रचलित कानुन तथा गाउँपालिकाको निर्णय प्रतिकूल नहुने थप निर्णय गर्ने र कार्यन्वयन गर्ने मात्रै अधिकार रहेको छ । वडाले क्षेत्राधिकार मिचेर उक्त निर्णय गर्नु दलीय द्वन्द्व नै हो ।


 गाउँपालिकामा नेतृत्वसहित नेकपाको बहुमत छ । आफ्ना पार्टीका सदस्य रहेका शिक्षकलाई विभेद गरेको भन्दै कांग्रेसले निर्णय कार्यान्वयन नगर्न दिएको दबाब गाउँपालिकाले बेवास्ता गरेपछि आफ्नो पार्टीले जितेको वडाबाट अवरोध गर्ने नीति अख्तियार गरेको छ ।


वडा–३ का वडाध्यक्ष गंगा श्रेष्ठ कांग्रेसबाट निर्वाचित हुन् । श्रेष्ठको यस्तो परिपत्रबारे आपत्ति जनाउँदै गाउँपालिकाले यसअघि भएका निर्णय कार्यान्वयन गर्न सबै विद्यालय तथा वडाहरूलाई लिखित निर्देशन दिइसकेको छ । 


गाउँपालिकाको निर्णयविरुद्ध अर्को निर्णय गरेर गरेको परिपत्रबारे वडा अध्यक्ष श्रेष्ठले टेलिफोनमा भने, ‘यो हाम्रो निर्णय हो । अब के हुन्छ, हेरौं’ भन्ने जवाफ दिए । वडाध्यक्षमार्फत कांग्रेसले गाउँपालिकाको निर्णय कार्यान्वयनमा अवरोधको प्रयास गरेको र उक्त प्रयासको औचित्य नभएको नेकपा चिशंखुगढीले प्रतिक्रिया दिएको छ ।  

 

क्षेत्राधिकार नमिच्न गाउँपालिकाको निर्देशन  


वडाध्ययक्षको परिपत्रपछि गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय तथा वडामा पत्राचार गर्दै गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले पत्र नै लेखेर क्षेत्राधिकार बाहिरका निर्णय नगर्न र शिक्षा नियामावलीअनुसार भएका निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । 


वडाको परिपत्र सम्बन्धमा गाउँपालिका अध्यक्ष निशान्त शर्मा क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न वडालाई अधिकार नभएको दाबी गर्छन् ।

 

कोरोनाका कारण विद्यालयको पठनपाठन अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले विद्यालय सञ्चालन तथा दरबन्दी मिलान, शिक्षक व्यवस्थापनको काम गरेको हो । राजनीति गर्ने मुद्दा धेरै छन् । शैक्षिक वातावरण नधमिल्याउन आग्रह छ,’ अध्यक्ष शर्माले भने ।

 

गाउँपालिकाले शिक्षा मन्त्रालयको दरबन्दी मिलानसम्बनधी परिपत्र तथा चिशंखुगढी गाउँपालिका शिक्षा नियमावलीका आधारमा पालिकाभित्रका ४२ शिक्षकको दरबन्दी मिलान तथा सरुवा गरेको थियो ।