close

छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई

छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई

Trulli
ADVERTISEMENT

खोटाङ - दूरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । स्वास्थ्य सेवा लिनका लागि एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता झेल्दै आएका यहाँका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ जन्तेढुंगा गाउँपालिका- ५ चिसापानीको खुटा छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । 


स्वास्थ्य चौकी सरहको सेवा, सुविधा दिनेगरी स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईको बिहीबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । सामान्य स्वास्थ्य उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर सामुदायिक स्वास्थ्य इकाई  स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।


दूरदराजमा रहेका नागरिकलाई घरैमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको नीतिअनुसार एक जना अहेव र एक जना अनमी व्यवस्था गरेर छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । सामुदायिक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता हटेकामा स्थानीय उत्साहित छन् । 


स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गत वर्ष जन्तेढुंगा गाउँपालिका- १ देवीस्थानको सिक्किमटारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । चालू आर्थिक वर्षभित्र छवटा वडा रहेको यस गाउँपालिकाका हरेक दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । 


दुर्गम ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि पूर्वाधार तयारीको काम भइरहेको गाउँपालिकाले जनाएको छ । सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले गत वर्ष नीति तथा कार्यक्रम पारित गरेको थियो ।