close

काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्ने

काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वाब संकलन गर्नका लागि आइतबारदेखि मोबाइल भ्यान संचालनमा ल्याउने भएको छ । सरकारले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेसँगै जनतामा स्वास्थ्यको पहुँच पु¥याउन मोबाइल भ्यान संचालनमा ल्याउन लागेको महानगरपालिकाले जनाएको छ ।

 


संक्रमितले परीक्षण गर्न अस्पताल, एम्बुलेन्स नपाउने समस्याको समाधानका निम्ति सो भ्यान ल्याउने तयारी भएको काठमाडाैं महानगरपालिका जनस्वाथ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

 


नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले तयार गरेको उपकरणजडित मोबाइल भ्यानले स्वाब संकलन गर्ने व्यवस्था गरेको हो । कुँवरका अनुसार आइतबारबाट सो भ्यानले स्वाब संकलन गर्नेछ । कामपाले सवारी साधन उपलब्ध गराएपछि त्यसमा नास्टले प्रविधि प्रयोग गरेको हो ।


कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका अशक्त, वृद्धवृद्धा बिरामीलाई मोबाइल भ्यानबाट स्वाब लिइने व्यवस्था गरिनेछ । भ्यानमा स्वाब संकलन गर्न केही स्वाथ्यकर्मी रहनेछन् ।  उनीहरूले भ्यानमार्फत घरघरमै पुगेर स्वाब संकलन गर्नेछन् । कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका बिरामीको पहिलो परीक्षण नगरपालिकाले गर्नेछ भने देस्रो पटक व्यक्ति आफैँले गर्नुपर्नेछ ।


सुरक्षित र भरपर्दो प्रविधि प्रयोग गरी भ्यान तयार पारिएको कामपाका जनस्वाथ्य विभाग प्रमुख कुँवरले बताए । उनले भने, ‘नास्टले विशेष प्रविधि प्रयोग गरी तयार गरेको सो भ्यान विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार भएको हो ।’


नेपालमा सो प्रविधि र उपकरण जडान गरी स्वाब संकलन गर्न भ्यान बनाउने अधिकार नास्टलाई मात्र भएको उनको भनाइ छ । झन्डै एक लाख संक्रमित रहेको उपत्यकामा कामपाले मोबाइल भ्यानबाट स्वाब संकलन कार्य सुरु गर्न लागेको हो । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही अस्पतालले आफ्नै मोबाइल भ्यानबाट स्वाब संकलन गरिरहेका थिए ।


कामपा र नास्टबीच मोबाइल भ्यान निर्माण गर्ने दुई पक्षीय सहमति भएपछि महानगर क्षेत्रमा अशक्तलाई भ्यानमार्फत स्वाब संकलन गर्न लागेको हो । भ्यान तयार गर्न करिब पाँच लाख रुपैयाँ खर्च लागेको कामपाको भनाइ छ ।


उता, उपत्यकाका काठमाडौं र ललितपुर महानगरले कोरोना परीक्षणलाई तीब्रता दिने तयारी गरेका छन् । दुवै महानगरले लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्ने तयारी गरेका हुन् ।

 

परीक्षणको संख्या घटाइएका कारण उपत्यकामा संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । सरकारले ५० जना संक्रमितको मात्र परीक्षण गर्न निर्देशन दिएको थियो । दैनिक झन्डै ५०० को हाराहारीमा परीक्षण हुने महानगरमा ५० जनाको मात्र परीक्षण गर्नुपर्ने भएपछि कामपा पछि हटेको थियो ।


तर, पुनः परीक्षण संख्या बढाउने विषयमा सहमति भएपछि कामपाले परीक्षणको संख्या बढाउन लागेको हो । कामपा जनस्वास्थ्य विभाग प्रमुख कँुवरले अब परीक्षणको दर बढाउने तयारी भइरहेको बताए । काठमाडौंमा झन्डै ३५ हजार संक्रमित रहेका छन् ।