close

कोरोना अस्पतालका दुःख : पूर्वाधार र बिरामी छन् तर डाक्टर पाइँदैन

नर्स र कार्यालय सहयोगी राखेर अस्पताल उद्घाटन

कोरोना अस्पतालका दुःख : पूर्वाधार र बिरामी छन् तर डाक्टर पाइँदैन

नर्स र कार्यालय सहयोगी राखेर अस्पताल उद्घाटन

Trulli
ADVERTISEMENT

दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिकामा अस्थायी कोरोना अस्पताल उद्घाटन गरिएको छ । कोरोना संक्रमितहरूको उपचार गर्न दुहुँको वडा–२ हिकिला स्वास्थ्य चौकीमा निर्माण गरिएको ५ शैयाको कोरोना अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं लेखा समिति सभापति नन्दा बमले उद्घाटन गरिन् ।


स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा कोरोना अस्पताल बनाउन बजेट विनियोजन गरेपछि दुहुँले पनि अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो ।


कोभिड अस्पताल सञ्चालनका लागि डाक्टर पाउन नसकिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । उनले भने, डाक्टरका लागि धेरै प्रयास गरियो तर उपाय लागेन । स्टाफ नर्स दुई र कार्यालय सहयोगी एक जनालाई नियुक्त गरेर अस्पताल सञ्चालनमा ल्याएका छौं ।’


गाउँपालिकाले एमबिबिएस डाक्टरका लागि १५ दिने सूचना आह्वान गर्दासमेत कसैले पनि आवेदन दिएनन्  । अहिले पुनः सात दिने सूचना प्रकाशन गरेर डाक्टरका लागि आवेदन माग्ने तयारी भएको अध्यक्ष कार्कीले बताए ।


वडा–२ का वडाध्यक्ष गोविन्दसिंह डडालले खोजी र फोन सम्पर्कसमेत गर्दा नपाइएपछि डाक्टरबिनै अस्पताल उद्घाटन गर्नु परेको गुनासो गरे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीको समेत सहभागिता थियो ।


दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिकाबाहेकका सबै स्थानीय तहमा ५ शैयाको अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यसअघि दार्चुलाको मार्मा गाउँपालिकाले गत २३ कात्तिकमा कोभिड अस्पताल सञ्चालनमा ल्याइसकेको छ । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको १० लाखमध्ये स्थानीय तहहरूले पाँच लाख शैयालगायत सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधी किन्नुपर्नेछ ।


यस्तै, चार लाख ५० हजार जनशक्ति परिचालनका लागि छुट्याइएको छ । कोरोना अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा अस्थायी रुपमा सञ्चालन गर्नुपर्नेछ ।


चार स्थानीय तहमा पनि उस्तै


सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको लामै समय भयो । तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित दार्चुलाका सात स्थानीय तहमा संघीय सरकारले १० लाखका दरले बजेट पनि पठाइसकेको छ ।

 

तर, यहाँका तीन स्थानीय तहले अस्पताल सञ्चालनका लागि डाक्टर नै पाएका छैनन् भने एक स्थानीय तहले चिकित्सक चाहिने भन्दै सूचनासमेत प्रकाशन गरेको छैन ।


सरकारले कोभिड अस्पतालका लागि एक  मेडिकल अधिकृत, दुई स्टाफ नर्स, एक  ल्याब टेक्निसियन र एक कार्यालय सहयोगी राख्न बजेट पठाएको छ । तर, दार्चुलाका चार स्थानीय तहले पटक–पटक सूचना प्रकाशित गर्दा पनि चिकित्सकले आवेदन दिएनन् ।


दार्चुलाको मार्मा गाउँपालिकाले मात्रै कोभिड– १९ अस्थायी अस्पताल सञ्चालन गरेको छ । दुई नगरपालिका र सात पालिका रहेको दार्चुलाको लेकम गाउँपालिकाले अहिलेसम्म चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापनसमेत खोलेको छैन ।


अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न दुई पटक डाक्टरका लागि आवेदन खोले पनि कसैके दरखास्त नहालेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । ‘गाउँपालिकाले पहिलो पटक डाक्टर ल्याउन १५ दिने सूचना आह्वान गरे पनि आवेदनै परेन’, अध्यक्ष धामीले भने, ‘पछि पुनः सात दिनका लागि सूचना आह्वान ग¥यौं तर कोही सम्पर्कमा आएनन् ।’


गाउँपालिकाले वडा–३ को खारमा अस्पताल सञ्चालन प्रक्रिया अघि बढाए पनि चिकित्सक भने पाउन सकेको छैन । गाउँपालिकाले दुई पटक सूचना जारी गर्दा डाक्टर नपाए पनि दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्त गरिएको अध्यक्ष धामीले बताए ।


यस्तै, उत्तरी सीमाको व्यास गाउँपालिकाले पनि अहिलेसम्म चिकित्सक पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिए । उनले भने, ‘गाउँपलिकाले १५ दिने सूचना आह्वान गर्दा पनि डाक्टरका लागि आवेदन परेन । चिकित्सकको आवेदन नपरेपछि अस्पताल सञ्चालनमा अन्योल भएको छ ।’


मालिकार्जुन गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनका लागि मेडिकल अधिकृत निराजन बोहरालाई भित्र्याएको छ । डाक्टर भित्र्याएको गाउँपालिकाले कोभिड अस्पताल भने सञ्चालनमा ल्याएको छैन ।

 

दार्चुलामा कोरोना संक्रमणको जोखिम कायमै रहँदा पनि अस्पताल सञ्चालनमा स्थानीय तहहरूले चासो दिएका छैनन् ।