close

भैँसीपालकलाई प्राेत्साहित गर्दै मुसीकोट

भैँसीपालकलाई प्राेत्साहित गर्दै मुसीकोट

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले एक सहकारी र एक भैँसीपालन महिला कृषि समूहलाई डेरी सञ्चालनका लागि विभिन्न सामग्री सहयोग उपलब्ध गराएको छ ।

 

नगरपालिकामा सञ्चालित नेपाल कृषि सेवा विकास कार्यक्रमको आर्थिक सहयोगमा वडा-९ को कामीबुढा जनस्मृति सहकारी र वडा-१३ को जनआस्था भैंसीपालन महिला कृषि समूहलाई विभिन्न सामग्री सहयोग गरिएको हो । 

 

जनआस्था भैँसीपालन समूहले सञ्चालन गर्न लागेको सहयात्रा डेरीलाई २० लिटरका चार वटा क्यान, कफी, पनिर बनाउने मेसिन, फ्रिज, ओभन र क्रिम सेभरेडर एक÷एक वटा प्रदान गरिएको छ । 


कामीबुढा जनस्मृति सहकारीलाई पाँच सय लिटरको चिलिङ भ्याट, दुई सय ५० लिटरको डिफ्रिज, २० लिटरका चार वटा क्यान र एउटा पनिर बनाउने मेसिन उपलब्ध गराइएको नगरपालिकाले बताएको छ ।

 

सहयोग सामग्री कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हस्तान्तरण गरिन् । सहयोगबाट समूह तथा सहकारीका सदस्यको आयस्रोत वृद्धि हुने विश्वास  उनले व्यक्त गरिन् । 

 

दूध तथा दुग्धजन्य पदार्थको उचित बजारीकरणका लागि सहकारी वा निजी क्षेत्रबाट सञ्चालित डेरीको क्षमता वृद्धि गर्ने उद्देश्यले पाँच लाख बराबरका सहयोग सामग्री वितरण गरिएको कृषि संयोजक नवीनकुमार शर्माले जानकारी दिए । ‘यसबाट डेरीको क्षमता विकासका साथै दूध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री बढ्ने अपेक्षा छ’, उनले भने । 

 

कोभिडका कारण प्रभावित कृषक घरधुरीको खाद्यान्न, कृषि प्रसार सेवाको प्रवाह, कृषि उद्यम तथा बजारीकरणमा पहुँचका माध्यमबाट खाद्य सुरक्षा तथा आम्दानीमा टेवा पुर्‍याउने उद्देश्यले कृषि कार्यक्रममार्फत यसअघि नगरका ६ सय तीन घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको थियो । 

 

कार्यक्रममार्फत विदेशबाट आएका १५ युवालाई तरकारी खेतीका लागि टनेल, थोपा सिँचाइ, स्प्रे ट्यांकी, प्लास्टिक, क्यारेट र तौल लिने मेसिनलगायत सामग्री सहयोग गर्न लागिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । नगरका ५०  कृषकलाई पनि विभिन्न सामग्री सहयोग गरिने उनको भनाइ छ ।