close

सबै नागरिकलाई स्वास्थ्य बीमा गर्ने गल्याङ नगरपालिकाको तयारी

सबै नागरिकलाई स्वास्थ्य बीमा गर्ने गल्याङ नगरपालिकाको तयारी

Trulli
ADVERTISEMENT

स्याङ्जा - गल्याङ नगरपालिकाले सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्‍याउने भएको छ । नगरवासीलाई स्वास्थ्य बीमामार्फत सेवा दिन नगरपालिकाले विशेष अभियान थाल्ने भएको हो ।

 

गल्याङ नगरपालिकाको आयोजनामा बिहीबार भएको स्वास्थ्य बीमा अभिमुखिकरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले डेढ महिना भित्र नगरपालिकाका सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने बताएका छन् । अधिकारीले सबै वडाका सहजकर्ताहरुलाई सक्रियतापूर्वक सहभागी गराइ बीमा नभएका ठाउँमा जनचेतना जगाउँदै बीमा गराउने बताए । 


७० वर्ष माथि उमेरका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा हुने भएपनि यसको उपयोग नभएको भन्दै नगरप्रमुख अधिकारीले जनचेतना फैलाउनुको विकल्प नरहेको बताए । नगरप्रमुख अधिकारीले भने,‘गल्याङ नगरपालिकालाई नमूना बनाउने अभियानमा हामी सबै लागौं र स्वास्थ्यको पहुँच पुर्‍याऔं ।’

 

नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाद्वारा संचालित गल्याङ नगर अस्पतालमा अब आइसोलेसन नराख्ने बताए । यसअघि कोरोना संक्रमितको लागि उक्त अस्पतालमा आइसोलेसनको व्यवस्था गरिएको थियो । 

 

कार्यक्रममा स्वास्थ्य विमा बोर्ड गण्डकी प्रदेश पोखराका संयोजक जिवलाल खरेलले स्याङ्जा र गल्याङ नगरपालिकामा स्वास्थ्य विमाको अवस्था सन्तोषजनक रहेको उल्लेख गरे । अहिले नेपालका ६० जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भैरहेको जानकारी दिँदै खरेलले ३२ लाख भन्दा बढिको स्वास्थ्य बीमा भएको बताए । 

 


नगरपालिकाभित्रका ५० जना जेष्ठ नागरिकहरुलाई सेवा दिई चाँडैनै यो सेवा शुभारम्भ हुने नगरप्रमुख अधिकारीले घोषणा गरेका छन् । 

 

गल्याङ नगर अस्पतालमा नै स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा सुरु हुने भएपछि स्थानीय लाभान्दित हुने  भएका छन् । यसअघि स्वास्थ्य बीमा गरेपनि मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र वा पाल्पामा रहेका अस्पतालबाट बीमितहरुले सेवा लिने गरेका छन् ।