close

मह उत्पादन बढाउने सैनामैनाको योजना

मह उत्पादन बढाउने सैनामैनाको योजना

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सैनामैना नगरपालिकाले मौरीपालन व्यवसायलाई प्रवर्द्धन गरेर माहुरी स्रोत केन्द्र सञ्चालनका लागि कृषकलाई ३० घार वितरण गरेको छ । 


संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड- १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरका मौरीपालक कृषकलाई मौरी घार वितरण गरिएको हो । 


नगरपालिका क्षेत्रमा व्यावसायिक मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ कृषकलाई दुई-दुई वटाका दरले मौरी घार वितरण गरिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।


उनले भने, ‘नगरपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले घारसँगै मौरीपालनका लागि आवश्यक अन्य सामग्री कृषकलाई वितरण गरेका हौं ।’ 


कृषकले मौरीपालनमा देखाएको चासोका आधारमा नगरपालिकाले मौरीपालनका लागि जग्गा लिजमा समेत उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे । कार्कीले भने, ‘अहिले महको राम्रो बजार छ । प्रोत्साहन र प्राविधिक तालिमका लागि नगरपालिका सहयोग गर्न तयार छ । व्यावसायिक रुपमा मौरीपालन गर्नुस् ।’


मौरीपालनका लागि आवश्यक मौरी घार, मह निकाल्ने मह मदानी, प्लास्टिक ज्याकेट, घुम्ती टोपी, मह काढ्ने जाली, चक्कु, माहुरो ब्रस, घार स्टापडलगायत १७ वटा सामग्री कृषकलाई हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिइन् । 


युएनडिपीको सहयोग र सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा नगरपालिकाले वितरण गरेको मौरी घारले कृषकलाई थप प्रोत्साहन मिल्ने कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन् । ‘व्यावसायिक मौरीपालनका लागि आउँदो पुसमा प्राविधिक तालिम प्रदान गरी मागका आधारमा फेरि अनुदान उपलब्ध गराइनेछ’, शर्माले भनिन् । 


माहुरी स्रोत केन्द्र सञ्चालनका अध्यक्ष लेखनाथ न्यौपानेले नगरपालिकाले प्रदान गरेको घारले मौरीपालन व्यवसाय गर्न थप हौसला मिलेको बताए । न्यौपानेले २५ घारमा मौरीपालन गर्दै आएका छन् । 

 

करिब चार वर्षदेखि ६५ घारमा मौरीपालन गर्दै आएका अर्का कृषक ठाकुरप्रसाद चालिसे नगरमा चरन क्षेत्र अभाव रहेकाले त्यसतर्फ नगरपालिकाले ध्यान दिन जरुरी रहेको बताउँछन् । माहुरी स्रोत केन्द्रले आगामी वर्ष २० टन देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिएको छ ।