close

कृषकका हातहातमा हाते ट्रयाक्टर पुर्‍याउँदै जगन्नाथ गाउँपालिका

कृषकका हातहातमा हाते ट्रयाक्टर पुर्‍याउँदै जगन्नाथ गाउँपालिका

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराको जगन्नाथ गाउँपालिका पहिलो पटक कृषि यन्त्रसँग जोडिन लागेको छ । जिल्लामा पहिलो पटक जगन्नाथ गाउँपालिकाले कृषकका लागि हाते ट्र्याक्टर वितरण गरेको छ । 


कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा जगन्नाथ गाउँपालिकामा कृषि औजार तथा उपकरण वितरण गरिएको जगन्नाथ गाउँपालिका प्रवक्ता डबल विकले जानकारी दिए । जगन्नाथ गाउँपालिकाले हाते ट्र्याक्टर ५० प्रतिशत रकम अनुदानमा खरिद गरी मार्तडीदेखि वडा कार्यालयसम्मको ढुवानी खर्चसमेत गाउँपालिकाले व्यहोरेको छ । ५० प्रतिशत रकम कृषि ज्ञान केन्द्र बाजुराले व्यहोरेको छ ।

 


नेपाल सरकारको नीतिअनुसार कृषि यान्त्रीकरणमा जोड दिनुपर्ने उल्लेख भए पनि पहाडी र हिमाली जिल्लामा यातायातको असुविधाका कारण नीति कार्यान्वयन हुन नसकिरहेका बेला जगन्नाथ गाउँपालिकाले भने ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण गरेको हो । 


जगन्नाथ गाउँपालिकाले किसानको सहजताका लागि कृषि ज्ञान केन्द्र बाजुराले ५० प्रतिशत अनुदानमा कृषकहरूका लागि कृषि औजार खरिद गरी वितरण गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।


शनिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष शाहीले गाउँपालिकाको केन्द्र जुड्डीमा छवटै वडाका कृषक समूहलाई हस्तान्तरण गरेको प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।


ट्र्याक्टर संचालनपश्चात किसानहरूको समयको बचत, कम लागतमा उत्पादन र किसानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । ट्र्याक्टर संचालनका लागि कृषक समूहले आवश्यक नीति बनाएर कुनै समूहको एक जना व्यक्तिलाई जिम्मा दिने र प्रतिघण्टाको आधारमा निश्चित रकम लिएर संचालन गर्ने निर्णय भएको वडा नं.- ५ का वडा अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।
 

प्रत्येक वडाका एक-एक जनाले रोजगारी प्राप्त गर्नुका साथै ट्र्याक्टरको संरक्षण हुने र गाउँमा पशु, वस्तु पालनमा कमी आउनुका साथै वन संरक्षण हुने गाउँपालिकाले जनाएको छ । प्राविधिक ज्ञानका लागि छवटै वडाका समूहले छानेका व्यक्तिहरूलाई कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा आवश्यक तालिमको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीले बताए ।