close

पूर्वी नवलपरासीका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत

पूर्वी नवलपरासीका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व- पूर्वी नवलपरासीमा संचालन भइरहेका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत रहेको पाइएको छ । नवलपुरका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेको अनुगमनका क्रममा फेला परेको हो ।


नवलपुरको दुम्किबासमा बाग्लुङ कालिका क्रसर उद्योग, महावीर एग्रिगेट इन्डस्ट्री र त्रिवेणी क्रसर उद्योग मापदण्डविपरीत संचालन भइरहेका छन् । त्यसैगरी अरुण खोलामा महाराजा क्रसर उद्योग, चोरमारामा न्यू मनकामना मिलर प्रोडक्ट प्रालि र मध्यबिन्दु क्रसर उद्योग पनि मापदण्डविपरीत रहेका छन् ।

 

यस्तै, मापदण्डविपरीत संचालन भइरहेका अन्य उद्योगमा कावासोतीको डण्डामा न्यू महालक्ष्मी रोडा एन्ड एग्रिगेट इन्डस्ट्री, दलदलेमा नवलपुर क्रसर उद्योग र मनकामना क्रसर उद्योग रहेका छन् । केउरेनीमा कालिका क्रसर उद्योग, झरही खोलामा त्रिशक्ति झरही क्रसर एन्ड स्क्रिन प्लान्ट उद्योग र महालक्ष्मी क्रसर उद्योग संचालनमा रहेका छन् ।


नवलपुरमा दर्ता भएर संचालनमा रहेका १२ वटै क्रसर उद्योग कोही खोला तथा नदी किनारमा, राजमार्ग छेउछाउ, कोही विद्यालय, कोही जंगल नजिक, कोही सुरक्षा निकायका कार्यालय नजिकै संचालनमा छन् ।


नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अनुगमनका क्रममा अधिकांश क्रसर उद्योगहरू मापदण्डविपरीत संचालनमा रहेको पाइएको जानकारी दिइन् । ‘नवलपुरमा संचालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्र उद्योगको अवस्था, दर्ता भए/नभएको, प्रक्रिया पूरा गरे/नगरेको, भ्याट बिल भए/नभएको, वातावरणीय मूल्यांकन गरे/नगरेकोलगायत सबै निरीक्षण गरेका हौँ’, प्रमुख जिल्ला अधिकारी पंगेनीले भनिन् ।


अनुगमनका क्रममा कतिपयले दर्ताविनै चलाएको र कतिपयले फर्जी बिल काट्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् । नवलपुरका अन्य क्रसर उद्योग तथा प्रशोधन केन्द्रको अनुगमन गरेर सबैलाई एकै पटक कानुनी कारवाही अगाडि बढाउने उनले जानकारी दिइन् ।
 
राजस्व असुली गर्दा एलडीओ नै सरुवा


नवलपरासी एउटै हुँदा केही क्रसर उद्योगहरूले अवैध उत्खनन गरेको नदीजन्य वस्तु जफत गरेर त्यसको जरिमाना असुली गर्न खोज्दा स्थानीय विकास अधिकारी नै सरुवा भएको घटना यसअघि सार्वजनिक भइसकेको छ ।


तत्कालीन स्थानीय विकास अधिकारी युवराज कट्टेल सरुवा भएका थिए । कट्टेलले अवैध रूपमा संचालित क्रसर उद्योगलाई वैध गराउन खोज्दा सरुवा गरिए पनि राज्यले खटाएको ठाउँमा जानै पर्ने बाध्यता रहेको सुनाएका थिए ।


उनलाई सामान्य प्रशासन मन्त्रालयले ३० असार २०७४ मा सरुवा गरेको थियो । चोरमारामा रहेको न्यू मनकामना क्रसर उद्योगले बुझाउनुपर्ने झन्डै दुई करोड रुपैयाँ राजस्व नतिरेसम्म उद्योग संचालन गर्न नदिने निर्णय गरेकै दिन उनी सरुवामा परेका थिए ।
 
अधिकांश प्रशोधन केन्द्र अवैध


नवलपुरमा रहेका बालुवाजन्य ६० भन्दा बढी प्रशोधन केन्द्र अवैध रूपमा संचालनमा छन् । ती प्रशोधन केन्द्र कतिपयले दर्ताविनै संचालन गरेको, कतिपयले दर्ता गरे पनि आईईई/ईआईए नगरेको, बालुवा प्रशोधन गर्ने भनी संचालन गरे पनि क्रसर उद्योगसरह गिटी कुट्ने, ढुंगासमेत बिक्री गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी पंगेनीले जानकारी दिइन्  ।


खोला नजिक, जंगल छेउ, घना वस्तीको बीचमा संचालनमा रहेका प्रशोधन उद्योगले फर्जी बिल काट्ने गरेको समेत पाइएको छ ।


राज्यले तोकेको ठाउँ जान तयार छौँ: क्रसर व्यवसायी


व्यवसायीहरूले नवलपुरमा संचालित क्रसर उद्योग सुरुमा मापदण्डअनुसारकै रहे पनि अहिले नयाँ मापदण्ड अपनाउँदा त्यस्तो देखिएको दाबी गरेका छन् ।


नेपाल रोडा, ढुंगा व्यवसायी संघ नवलपुरका अध्यक्ष भोजेन्द्रबहादुर रायमाझीले राज्यले निर्धारण गरिदिएको मापदण्डअनुसारको स्थान देखाइदिए आफूहरू उक्त स्थानमा गएर क्रसर उद्योग संचालन गर्न तयार रहेको बताए ।


उनले भने, ‘ढुवानीका लागि बाटो, प्रशोधनका लागि पानी र उद्योग संचालन गर्न बिजुली उपलब्ध गराए राज्यले तोकेको स्थानमा गएर उद्योग संचालन गर्न तयार छौँ ।’ रायमाझीले राज्यले ल्याएको नयाँ मापदण्डअनुसारको स्थान पाउन मुस्किल पर्ने बताए ।


 
नवलपुर प्रशासनले जिल्लाभित्र संचालनमा रहेका क्रसर उद्योग तथा प्रशोधन केन्द्रको अनुगमन थालेको छ । नवलपुरमा एक दर्जनभन्दा बढी क्रसर र पाँच दर्जनभन्दा बढी प्रशोधन उद्योग संचालनमा छन् ।


प्रशासनले गत बिहीबार दुम्किबास आसपास संचालनमा रहेका क्रसर र प्रशोधन उद्योगमा अनुगमन गरेको थियो भने शुक्रबार अरुण खोला आसपास अनुगमन गरिएको हो ।

 

७ दिनभित्र स्टक प्रमाणित गर्न निर्देशन

 

जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्लामा संचालित क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई स्टक प्रमाणित गर्न सात दिने निर्देशन दिएको छ ।


केही क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा अस्वाभाविक गिटी, बालुवा तथा क्रसर स्टक देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले यस्तो निर्देशन दिएको हो ।


बिहीबार र शुक्रबार गरिएको अनुगमनमा अधिकांशमा आवश्यकताभन्दा बढी स्टक देखिएपछि प्रमाणित गर्न निर्देशन दिएको पंगेनीले बताइन् ।


प्रमुख जिल्ला अधिकारी पंगेनीले भनिन्, ‘स्टक जस्ताको तस्तै देखिए पनि दैनिक बिक्री र  निकासी भएको छ । यसले अस्वाभाविक स्टक भएको देखिएकाले प्रमाणित गर्न निर्देशन दिएका हौँ ।’


भ्याट बिल बरामद


कतिपय क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रले भ्याट छल्ने, नक्कली भ्याट बिल काट्ने, चेकिङमा रहेको प्रहरीलाई देखाउने बिल र असली बिल फरक हुने गरी बिल काटेको पाइएको छ । त्यस्ता बिल बरामद गरी अनुगमन टोलीले आवश्यक कारवाही अगाडि बढाएको छ ।


प्रमुख जिल्ला अधिकारी पंगेनीका अनुसार केही उद्योगहरूले भ्याट बिलसमेत नक्कली छापेर राजस्व छलेको पाइएको छ ।