close

सोल्मामा खुल्यो आधुनिक कृषि तथा पशु प्रयोगशाला 

सोल्मामा खुल्यो आधुनिक कृषि तथा पशु प्रयोगशाला 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ सोल्मामा आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरिएको छ । कम्पोस्ट मल प्लान्ट परिसरमा रहेको कृषि स्रोत केन्द्रमा डिजिटल सोयल टेस्टिङ (माटो परीक्षण) मिनिल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरिएको हो ।

 

चार लाख ९६ हजारको लागतमा स्थापना गरिएको आधुनिक कृषि तथा पशु प्रयोगशाला शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उद्घाटन गरे । 

 

माटोमा भएका नाइट्रोजन, फस्फोरस, पोटासियमलगायत १४ तत्वको मात्रा यकिन गर्दै माटोको स्वास्थ्य कार्ड वितरण गर्न सकिने व्यवस्थासहित डिजिटल सोयल टेस्टिङ मिनिल्याब सञ्चालनमा ल्याइएको नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताए । 

 

उनले भने, ‘डिजिटल सोयल टेस्टिङ मिनिल्याब स्थापनापछि माटोको स्वास्थ्य स्थिति परीक्षण र जानकारी लिन विराटनगर वा काठमाडौं पुग्नैपर्ने बाध्यता हटेको छ । हालसम्म डिजिटल सोयल टेस्टिङ मिनिल्याबको अभावमा जिल्लाका किसान हजारौं खर्च र समय खर्च गरेर अन्यत्र जान बाध्य थिए,’ कलौनीले भने ।

 

मुलुकभरका स्थानीय तहमध्ये डिजिटल सोयल टेस्टिङ मिनिल्याब सञ्चालनमा ल्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको कृषि प्रसार अधिकृत कलौनीले दाबी  गरे। डिजिटल सोयल टेस्टिङ मिनिल्याबका माध्यमबाट अन्नबालीमा लाग्ने रोग तथा किराको पहिचान गर्दै उपचारात्मक विधि अपनाउन सहज हुने नगरपालिकाले जनाएको छ ।

 

‘डिजिटल सोयल टेस्टिङ मिनिल्याबबाट माटोमा रहेका १४ वटा तत्वको मात्रा यकिन गर्न सकिन्छ र माटो स्वास्थ्य कार्ड वितरण गर्न सकिन्छ,’ कृषि प्रसार अधिकृत कलौनीले भने, ‘यसबाट अन्नबालीमा लाग्ने रोग र किराको पहिचान पनि गरेर विशेषज्ञ सेवा लिन सकिन्छ ।’ 

 

डिजिटल सोयल टेस्टिङ मिनिल्याबबाट पशुको स्वास्थ्य परीक्षण, सर्जिकल अपरेसन, कृत्रिम गर्भाधान, टाँका लगाउने, खसी पार्नेलगायतका सेवा उपलब्ध गराइनेछ । आधुनिक कृषि तथा पशु प्रयोगशाला उद्घाटन कार्यक्रमको वडाध्यक्ष हर्क खत्रीले भने सुइँको पाएनन् । 

 

१५ वडालाई माटो जाँच उपकरण 


दिक्तेल रुपाकोट मझुवागढीले १५ वडालाई माटो जाँच गर्ने उपकरण प्रदान गरेको छ । नगरपालिकाले शनिबार वडासचिवमार्फत वडालाई माटो जाँच उपकरणअन्तर्गत सोयल टेस्टिङ किट बक्स, डिजिटल पिएच मिटर र रिएजेन्ट (केमिकल) प्रदान गरेको हो ।


वडा कार्यालयमा रहने गरी वडालाई चार लाखको माटो जाँच उपकरण प्रदान गरिएको कृषि प्रसार अधिकृत कलौनीले बताए । माटोमा भएका नाइट्रोजन, फस्फोरस र पोटासियमको कम, मध्यम र धेरै मात्राबारे पहिचान गर्न वडालाई जाँच उपकरण प्रदान गरिएको नगरपालिकाले बताएको छ ।

 

‘नगरभित्रका किसानले वडा कार्यालयबाटै माटो परीक्षण गर्न पाउनेछन् । हातमा बोकेर हिँड्न सकिने भएकाले घर–घरमा लगेर पनि माटो परीक्षण गर्न सकिन्छ,’ कलौनीले भने, ‘यसबाट माटोको अम्लीयपन र क्षारीयपनको मापन गरेर सोहीअनुसार कुन बाली लगाउने भनेर निधो गर्न सकिन्छ ।’ 

 

नगरपालिकाले ७० किसानलाई च्याउ उत्पादन एवं बीउ सहयोग गरेको छ । नगरपालिकाले किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएर आवश्यक बिउ प्रदान गरेको हो ।