close

किसानलाई निःशुल्क कृषि औजार बाँड्दै मोलुङ

किसानलाई निःशुल्क कृषि औजार बाँड्दै मोलुङ

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको मोलुङ गाउँपालिकाले व्यावसायिक तरकारी खेती गरिरहेका किसानलाई अनुदानमा बिउ तथा कृषि औजार वितरण गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास) को साझेदारीमा तरकारी बिउ तथा कृषि औजार वितरण गरिएको हो ।


विदेशबाट फर्किएकामध्ये ३२ जनालाई बेमौसमी तरकारीका लागि प्लास्टिक टनेल, त्यस्तै, बंगुरपालनमा २० जनालाई पाठा र  दाना, च्याउ खेतीतर्फ १६ जनालाई बिउ तथा आवश्यक उपकरण दिइएको गाउँपालिकाको कृषि शाखा प्रमुख शान्तिलाल सापकोटाले बताए । 

 

४० घरलाई  विभिन्न प्रकारका तरकारीको बिउबिजन वितरण गरिएको छ । गाउँपालिकाभित्र लाग्ने चार वटा हाटबजारका लागि चारै वटा डिजिटल तराजुको व्यवस्था गाउँपालिकाले गरिदिएको सापकोटाले जानकारी दिए ।


‘जिल्लाका अधिकांश नागरिककको पेसा कृषि भए पनि बाहिरबाट तरकारी आयात भइरहेको समय आयात विस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ’, सापकोटाले भने ।


गाउँपालिकाले यसअघि वडा-वडामा मापदण्ड तोकेर व्यावसायिक कृषिमा लागेका किसानबाट आवेदन माग गरेको थियो । आवेदन छानबिन गरेर तोकिएको मापदण्डमा परेका किसानले मात्रै अनुदान पाएका हुन् । 


गाउँगाउँमा सडक पुगेपछि उपभोग्य वस्तु आयात मात्रै हुने तर गाडी रित्तै फर्किने अवस्था हटाएर कृषि उत्पादन बढाउन निःशुल्क कृषि औजार बिउ वितरणको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए । उनले भने, ‘रित्तै फर्किने गाडीमा यहाँका उत्पादन पठाउन सकिए मात्र वडामा सडक पुगेको औचित्य हुन्छ । यसतर्फ गाउँपालिकाले सोचिरहेको छ ।’ 

 

विदेशबाट आएर स्वदेशमै केही व्यवसाय गर्न चाहने युवाहरूलाई गाउँपालिकाले अवसर दिएको छ । ‘यस्तो अवसर सदुपयोग गरे युवाहरू स्वदेशमै आत्मनिर्भर बन्न सक्छन्’, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष गौतमले भने ।