close

ओलीको संकल्पमा राधिकाको साथ, कम्बल बाँढ्दै ५ लाखको अक्षयकोष घोषणा

ओलीको संकल्पमा राधिकाको साथ, कम्बल बाँढ्दै ५ लाखको अक्षयकोष घोषणा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट चाँडै निरक्षरता उन्मूलन गर्ने घोषणा गरेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपस्थित घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीले कोही मान्छे निरक्षर रहन नहुने बताएका छन् ।


‘पढ्न नपाएर वा नसकेर कोही मान्छे साक्षरताको प्यासमा दौडिरहेको अवस्था अब यो सरकारले चाँडै अन्त्य गर्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले नेपालका दुर्गम बस्तीहरूमा शिक्षा, स्वास्थ्य, सडक र खानेपानी जस्ता न्यूनतम पूर्वाधारले क्रमशः स्थान पाउँदै गरेको बताए ।


जनताका आधारभूत आवश्यकता पूरा गर्न वर्तमान सरकारले ठोस कार्यदिशाका साथ काम गरिरहेको बताएका प्रधानमन्त्री ओलीले जनप्रगतिका काम देखेर अस्थिरता चाहनेहरूले आफ्नो राजीनामा मागेको बताए । वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने उनको भनाइ थियो ।


उनले देशको प्रगति हुने देखेर र अतिक्रमित जमिन फिर्ता ल्याएको देखेर आत्तिएकाहरूले आफ्नो राजीनामा मागेको बताए । राजीनामा माग्नेहरूलाई उनले काम नपाएका र अस्थिरता निम्त्याउन खोज्नेको संज्ञा दिएका छन् ।


प्रधानमन्त्री ओलीले अबको तीन वर्षभित्र उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङ्गोला) लोकमार्गको ‘ट्र्याक ओपन’को सबै काम पूरा गरी ग्राभेल गरिने बताए । त्यसपछि कालोपत्रेमा जाने उनको भनाइ थियो ।


उनले चारैतिर बढेको विकासको गतिले देशका दुर्गम स्थान पनि सुगम बनिरहेको बताए । उनले घुन्सालाई त्यस्तै केन्द्रको संज्ञा दिएका छन् ।


ओली पत्नीद्वारा ५ लाखको अक्षयकोष स्थापना


प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा निमाविका विद्यार्थीका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् ।


घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीसँगै आएकी शाक्यले घुन्साका जेहेनदार तथा विपन्न विद्यार्थीको सहयोगका लागि रकम दिने घोषणा गरेकी हुन् ।


पत्नी शाक्यका तर्फबाट प्रधानमन्त्री ओली आफैँले सहयोगको घोषणा गरेका थिए । ओलीले पाँच लाख रुपैयाँको उक्त अक्षयकोषबाट वर्षभरमा पाँच जना बालक र पाँच जना बालिकाको छात्रवृत्तिमा सहयोग गर्न घुन्सा निमाविका प्रधानाध्यापक लीलाचक्र गुरुङलाई अनुरोध गरेका छन् ।


ओलीपत्नी शाक्यले घुन्सा र वरपरका स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी छन् । उनले घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रका लागि १० थान कम्बल दिने घोषणा पनि गरेकी छन् ।