close

चेपाङ र दलित बस्तीमा पहिलो पटक सेतो कोट

छातीमा स्टेथोस्कोप, अनुहारमा खुसी

चेपाङ र दलित बस्तीमा पहिलो पटक सेतो कोट

छातीमा स्टेथोस्कोप, अनुहारमा खुसी

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरको दुर्गम तथा सिमान्तकृत चेपाङबासीको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माण भइरहेको छ ।

 

५ नम्बर वडाको ठाडेचुरीमा अस्पताल भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणको लागि जिल्ला समन्वय समिति मकवानपुरले पनि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७०औं बोर्ड बैठकले गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।


गाउँमै स्वास्थ्य सेवा प्राप्त गर्ने भएपछि गाउँबासी खुसी भएका छन् । सहज सडक पहुँच पनि नपुगेको दुर्गम राक्सिराङमा पहिलोपटक आवासीय रुपमा चिकित्सक (डाक्टर) पनि उपलब्ध भएको छ । राक्सिराङ–५ चैनपुरमा रहेको स्वास्थ्य चौकीमा आवासीय रुपमा डाक्टर राख्ने व्यवस्था गरिएको हो । केहीदिन अघि मात्रै डाक्टर धनबहादुर खत्रीले स्वास्थ्य चौकीबाटै आवासीय रुपमा सेवा दिएको स्वास्थ्य संयोजक बिजय कापरीले बताए ।


डाक्टर खत्रीलाई गाउँपालिकाले निर्माण गरिरहेको कोभिड अस्पतालका लागि करार सेवामा लिइएको हो । राक्सिराङको इतिहासमै पहिलोपटक डाक्टर उपलब्ध भएको र विपन्न, जनजातिहरुले निःशुल्क सेवा पाइरहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।


‘अहिलेसम्म राक्सिराङमा डाक्टरसहितको स्वास्थ्य सेवा थिएन् । हामीले कोभिड अस्पतालका लागि पहिलो पटक गाउँमा डाक्टर ल्याएर सेवा दिइरहेका छौं’, मल्लले पालिका खबरसँग भने ।


कोभिड अस्पतालका लागि करारमा डाक्टरको नियुक्ति गरिएपनि भविष्यमा कोभिड अस्पताललाई नै सामान्य अस्पतालमा रुपान्तरण गरी डाक्टरको दरबन्दी कायमै राखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । गाउँपालिकाले कोभिड अस्पतालका लागि धमाधम भवन निर्माण गरिरहेको छ ।


डाक्टर उपलब्ध भएपछि राक्सिराङ गाउँपालिकाका बासिन्दा सामान्य उपचारका लागि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, हेटौंडा र भरतपुरका महँगा अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएको गाउँपालिका अध्यक्ष मल्ल बताउँछन् । ‘सामान्वयदेखि जटिल रोगको उपचार पनि गाउँमा गर्ने व्यवस्था थिएन् । आर्थिक अवस्था कमजोर भएका चेपाङ तथा तामाङबासीले हेटौंडा र भरतपुरका अस्पताल धाउनु पर्ने बाध्यता थियो । त्यो अब हटेको छ’, मल्लले भने ।


बिगतमा शिविर सञ्चालनका लागि केही दिन मात्रै डाक्टर आउने गरेको भएपनि अब निरन्तर रुपमा डाक्टरको सेवालाई राक्सिराङमा स्थायी गर्नेगरी पूर्वाधार तयार गरिरहेको अध्यक्ष मल्ल बताउँछन् ।  


राक्सिराङ गाउँपालिका साबिकका ४ वटा गाउँ विकास समिति मिलेर बनेको दुर्गम क्षेत्रको गाउँपालिका हो । दुर्गम भएकै कारण स्वास्थ्यकर्मीहरु राक्सिराङ गाउँपालिका जान रुचाउँदैनन् । चेपाङ, दलित र गरिवीको रेखामुनि रहेका समुदायका बीचमा डाक्टरको हातबाट उपचार पाउने व्यवस्था संघीयता कार्यान्वयनको एउटा नमूना भएको राक्सिराङ गाउँपालिकाको निष्कर्ष छ ।