close

मैवाखोलामा व्यवसाय दर्ता गर्ने महिलाई शुल्क मिनाहा

मैवाखोलामा व्यवसाय दर्ता गर्ने महिलाई शुल्क मिनाहा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले महिलाको नाममा व्यवसाय दर्ता गर्दा लाग्ने शुल्क मिनाहा गर्ने भएको छ ।महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन तिनका नाममा व्यवसाय दर्ता गरे दर्ता शुल्क नलिने निर्णय भएको गाउँपालिका प्रवक्ता थर्ककुमार चोङवाङले जानकारी दिए ।


उनका अनुसार स्थानीय सीप, स्रोत-साधनमा आधारित व्यवसाय प्रवर्द्धनमा जोड दिइनेछ भने ती व्यवसाय महिलाका नाममा दर्ता भए दर्ता शुल्क पूरै मिनाहा गरिनेछ ।

 

महिलाका नाममा दर्ता भएका व्यवसाय नवीकरणमा ५० प्रतिशत शुल्क मिनाहा गरिनेछ । महिलालाई आर्थिक क्रियाकलापमा सक्रिय बनाउँदै महिला उद्यमशीलता प्रवद्र्धनका लागि यस्तो कार्यक्रम अघि सारिएको प्रवक्ता चोङवाङले बताए ।

 

‘लैंगिक समानता र समावेशीकरणका लागि पनि यो अभियान उपयुक्त र लाभप्रद हुने विश्वास छ’, उनले भने ।

 

प्रवक्ता चोङवाङका अनुसार स्थानीय स्तरमा पाइने कच्चा पदार्थ उद्योगको दर्ता तथा सञ्चालनमा गाउँपालिकाले पालिकाभित्रका महिलालाई प्रोत्साहित गर्नेछ । स्थानीय स्तरमै कच्चा पदार्थ पाइने उद्यम सञ्चालनका लागि व्यवसाय दर्ता गरी सञ्चालन गर्न माग आए गाउँपालिकाले सीप हस्तान्तरण तथा क्षमता विकास तालिमको अवसरसमेत दिनेछ ।


त्यस्ता उद्यम सञ्चालन तथा दर्ताका लागि गाउँपालिकाको महिला विकास शाखामार्फत घरदैलो अभियान सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । 


महिलालाई उद्यम, व्यवसाय दर्ता र उनीहरूको उद्यम सञ्चालनको अभिरुचि बुझ्न महिला विकास शाखाको टोली पुस पहिलो साताबाट पालिकाभित्र घरदैलो अभियानमा जानेछ’, प्रवक्ता चोङवाङले भने ।