close

बुटवल उपमहानगरमा विद्युतीय भुक्तानी सेवा

बुटवल उपमहानगरमा विद्युतीय भुक्तानी सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवल उपमहानगरले नगरबासीलाई राजस्व तिर्न लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गरेको छ । उपमहानगरले अनलाइनबाटै राजस्व तिर्ने विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको हो ।


उपमहानगर र यसअन्तर्गतका १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिनेछ ।


करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवा शुल्क, अचल सम्पत्ति मूल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्नेछन् ।


संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय भुक्तानी सेवाको उद्घाटन गर्दै डिजिटल सिटीको अभियानमा बुटवलले महत्त्वपूर्ण कदम चालेको बताए । ‘कर तिर्न लाइन बस्नै पर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरू अझै प्रोत्साहित हुनेछन्’, अर्थमन्त्री पौडेलले भने ।  


आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन मन्त्री पौडेलले उपमहानगरलाई आग्रह गरे ।


बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै लगिएको बताए । ‘हामीले कर बढाएका छैनौँ । करको दायरालाई विस्तार मात्र गरेका हौँ’, उनले भने, ‘अनलाइन प्रणालीको विकास सोही अभियानमध्येको एक हो ।’


बुटवलमा काठमाडौं उपत्यकापछि पहिलो पटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस)को सुरुवात भएको थियो । त्यससँगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जीपीएस र जीआईएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ ।


अहिले सुरु गरिएको ई-पेमेन्ट सिस्टमसँगै बुटवलले डिजिटल प्रविधिमा फड्को मारेको छ । जनप्रतिनिधि आएपछि वृद्धि हुँदै गएको राजस्व संकलन अनलाइन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उपमहानगरको विश्वास छ ।


उपमहानगरले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ पनि गरिसकेको छ ।


शीर्षकगत करदाता ८६ हजार


बुटवलमा सम्पत्ति कर, भूमि कर, व्यवसाय कर र बहाल कर तिर्ने सबै प्रकारका शीर्षकगत करदाताको संख्या करिब ८६ हजार रहेको छ ।


यी सबै प्रकारका राजस्व तिर्ने सेवाग्राही अनलाइन प्रणालीको प्रत्यक्ष लाभकर्ता हुनेछन् । यसखाले ई–पेमेन्ट व्यवस्था पालिकाहरूमै पहिलो रहेको उपमहानगरको दाबी छ ।


सम्पत्ति कर र भूमिकर बुझाउने करदाताको संख्या ५९ हजार ५९३, व्यवसाय कर बुझाउनेको संख्या १८ हजार १२६ र बहाल कर बुझाउनेको संख्या सात हजार ९५६ गरी करिब ८६ हजार शीर्षकगत करदाता रहेका छन् ।


राष्ट्रिय परिचयपत्रको सिस्टममा इन्टर कनेक्ट


बुटवलले सुरु गरेको अनलाइन प्रणाली राष्ट्रिय परिचयपत्र निर्माणका लागिसमेत उपयोगी हुनेछ । बुटवलको अनलाइन प्रणाली प्रधानमन्त्री कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र (नेसनल आइडी)मा इन्टर कनेक्ट भएको छ ।


राजस्व बढ्ने विश्वास

 

कार्यालय धाएर लाइन लागेरै कर तिर्नुपर्दा तीन गुणाले बढेको राजस्व अब अनलाइन प्रणालीले झनै बढ्ने बुटवल उपमहानगर उपप्रमुुख गोमादेवी आचार्यले बताइन् ।


बुटवल उपमहानगरमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि राजस्व संकलनमा वृद्धि हुँदै गएको तथ्यांक छ ।

 
२०७४ असारसम्म बुटवलमा संचालित व्यवसायमध्ये सात हजार ७०० मात्र दर्ता थिए । करिब साढे तीन करोड रुपैयाँ राजस्व थियो । त्यसको साढे दुई वर्षमा करिब ११ हजार नयाँ व्यवसाय दर्ता भएका छन् ।


बुटवलले चालू आर्थिक वर्षमा दुई अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । चालू आवको ११ मंसिरसम्म बुटवल उपमहानगरले १६ करोड रुपैयाँभन्दा बढी राजस्व असुली गरेको वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णु खनालले बताए ।