close

दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन 

दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन 

Trulli
ADVERTISEMENT

काठमाडौं ।

सरकारले आत्महत्या रोक्नका लागि उपत्यकाका दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ । 


मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी  दिए । 


लगनखेलस्थित मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०–०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ । 
उनले दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताए । मानसिक अस्पतालमा बिहान ८ः०० देखि साँझ ८ः०० बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घन्टा नै मनोचिकित्सकले परामर्श दिनेछन् ।


विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । यस हिसाबले हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको छ । 


विश्वव्यापी आत्महत्याका घटनामध्ये ७९ प्रतिशत घटना नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशमा हुने गर्छन् । नेपालमा भने हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौं स्थानमा छ ।

नेपालमा केही स्वास्थ्यसम्बन्धी काम गर्ने संघसंस्थाले केही वर्षदेखि नै निःशुल्क हेल्पलाइन सुरु गरेका छन् । 


अध्ययनले यस सेवाको प्रयोगपछि १० मा १ जनाले आत्महत्या गर्नबाट पछि हटेको पाइएको छ ।