close

ताप्लेजुङका तीन स्थानीय तहमा मात्र हुने भयो अस्पताल भवन शिलान्यास

ताप्लेजुङका तीन स्थानीय तहमा मात्र हुने भयो अस्पताल भवन शिलान्यास

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जग्गा प्राप्तिको प्रक्रिया नै पूरा नभएपछि ताप्लेजुङमा पाँचमध्ये दुई पालिकाले सोमबार अस्पताल भवनको शिलान्यास नगर्ने भएका छन् ।


नेपाल सरकारले ताप्लेजुङका पाँचसहित देशभरका ३९६ पालिकामा आज १५ मंसिरमा अस्पताल र सातवटै प्रदेशका सरुवा रोग अस्पतालको शिलान्यास गर्ने तयारी गरेको थियो ।


सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले जग्गा प्राप्तिको प्रक्रिया पूरा नभएकाले सोमबार (आज) अस्पताल  भवनको शिलान्यास नहुने जनाएका छन् । सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जग्गा प्राप्तिको प्रक्रिया पूरा नभएकाले सोमबार अस्पताल भवनको शिलान्यास गर्न नसकिएको बताए । मिक्वाखोला गाउँपालिका वडा नं.- २ का वडा अध्यक्ष सुरेशकुमार थापाले पनि अस्पताल भवन बनाउन जग्गा प्राप्तिको प्रक्रिया पूरा नभएकाले आज अस्पताल भवनको शुभारम्भ नहुने जानकारी दिए ।


दुवै पालिकाले शीघ्र जग्गा प्राप्त गरी अस्पताल भवन बनाउने कार्य प्रारम्भ हुने बताएका छन् । फक्ताङ्लुङ गाउँपालिकाले पूर्वसांसद तिलकुमार मेन्याङ्वोको उपस्थितिमा अस्पताल भवनको शिलान्यास गर्ने गाउँपालिका अध्यक्ष सरोज एभेङले बताए ।


आठराई त्रिवेणी गाउँपालिकाका प्रदेशसभा सांसद टंक आङ्बुहाङको उपस्थितिमा अस्पताल भवनको शिलान्यास गरिने गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए । सिरिजङ्घा गाउँपालिकामा भने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।


अस्पताल बनाउनका लागि चालू आर्थिक वर्षमा नेपाल सरकारले आठराई त्रिवेणी र सिरिजङ्घा गाउँपालिकालाई हरेकलाई आठ लाख ५० हजार रुपैयाँ र सिदिङ्वा, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकालाई हरेकलाई सात लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ ।