close

नगर अस्पतालमा राजनीतिः प्रमुख र वडाध्यक्षले बेग्लाबेग्लै स्थानमा गरे शिलान्यास

नगर अस्पतालमा राजनीतिः प्रमुख र वडाध्यक्षले बेग्लाबेग्लै स्थानमा गरे शिलान्यास

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङको राइनास नगरपालिकामा अस्पताल निर्माणमा विवाद भएपछि नगर प्रमुख र वडाध्यक्षले वेग्लावेग्ले स्थानमा अस्पतालको शिलान्यास गरेका छन् ।


अस्पताल निर्माणमा विवाद भएपछि नगर प्रमुख र वडा अध्यक्षले दुई ठाउँमा छुट्टाछ्ट्टै शिलान्यास गरेका हुन् । नगरप्रमुख सिंहबहादुर थापा र सो वडाका वडाध्यक्षले  राइनास–४ सातविसेमा आधारभूत अस्पतालको शिलान्यास गरेका छन् भने वडा नम्बर ६ का वडाध्यक्ष रुकमान तामाङले धमिलिकुवामा अस्पताल बनाउने भन्दै शिलान्यास गरे ।


 
सरकारले धमिलिकुवा स्वास्थ्य चौकीलाई नै स्तरोन्नति गर्ने भनेर बजेट पठाएपछि धमिलिकुवामै अस्पताल बन्नुपर्ने भन्दै वडा नं ६ का वडा अध्यक्ष तामाङले अडान लिएका छन् ।

वडा नं ४ का वडाध्यक्ष तामाङले नगर प्रमुखले बलमिच्याई गरेर सातबिसेमा अस्पताल निर्माणका लागि शिलान्यास गरेको उनको भनाइ छ ।


नगरप्रमुख थापाले वडाका लागि नभएर नगरपालिकाका लागि बजेट आएकाले नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार राइनास–४ को सातबिसेमा भवन निर्माणको लागि शिलान्यास गरिएको बताए । ‘त्यहाँका वडाले हाम्रो नाममा आएपछि त्यो अस्पताल बजेट हामीले नै पाउनुप¥यो भनेर निहुँ मात्र खोजे,’ उनले भने ।

 
नगरको निर्णयअनुसार सोमबार ५ शय्याको कोभिड अस्पताल र १५ शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गरेको नगरप्रमुख थापा बताउँछन् । ‘सरकारको योजना नगरपालिकाले कार्यान्वयन गर्ने हो वडाले होइन’, उनले भने, ‘नाम धमिलिकुवाको आउँदैमा योजना वडाको हुँदैन ।’


सरकारले धमिलिकुवा स्वास्थ्य चौकीका लागि बजेट पठाएकाले त्यही योजना अरु ठाउँमा लैजान नमिल्ने वडा नं ६ का वडा अध्यक्ष तामाङको दावी छ । सातबिसेमा अस्पताल बनाउनुपर्छ भनेर धमिलिकुवाको विरुद्धमा विधिविपरीत नगरप्रमुखले नै जनता भड्काएको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले बताउँछन् ।


अर्थमन्त्रालयबाटै धमिलिकुवा स्वास्थ्य चौकी स्तरोन्नति गर्ने भनेर बजेट बिनियोजन भएकाले चक्रतीर्थ राइनास अस्पताल शिलान्यास गर्नु नगरप्रमुखको गैरजिम्मेवार र विधिविपरीतको काम भएको वडा नम्बर ७ का वडाध्यक्ष माधवप्रसाद पराजुलीको पनि भनाइ छ ।

 

राइनास नगरपालिकाको २३ फागुन, २०७३ मा बसेको बैठकले वडा नम्बर ६ को धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने  निर्णय गरेको थियो ।  नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइनसकेका कारण तत्कालीन कार्यकारी अधिकृत नुराराज कडरियाको अध्यक्षमा बसेको बैठकले धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने निर्णय गरेर पठाएको थियो ।  


१४ असार, २०७४ मा राइनास नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो कार्यपालिका बैठकले वडा नम्बर ४ को सातबिसेमा नगरस्तरीय अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले ३९६ स्थानीय तहमा ५ देखि १५ एकैचोटी शय्याका आधारभूत अस्पताल निर्माण गर्ने कार्यक्रम ल्यायो । अर्थमन्त्रालयले त्यही कार्यक्रम अन्तर्गत नामै किटान गरेर धमिलिकुवा स्वास्थ्य चौकीका नाममा बजेट बिनियोजन गरेको छ ।


एकैदिन दुई ठाउँमा अस्पताल निर्माणका लागि शिलान्यास कार्यक्रम भएपछि  उपप्रमुख धनकुमारी गुरुङ, वडा नम्बर ९ र १० का वडाध्यक्ष कुनै पनि कार्यक्रममा सहभागी भएनन् । वडा नम्बर ९ का वडाध्यक्ष देवबहादुर थापाले भने धमिलिकुवा स्वास्थ्यचौकीकै नाममा बजेट आएकाले त्यहीँ हुनुपर्छ भन्ने मत बलियो भएकोले कुनैपनि शिलान्यास कार्यक्रममा सहभागी नभएका बताए ।

राइनासमा तत्कालीन एमालेका तर्फबाट सिंहबहादुर थापा प्रमुखमा निर्वाचित भएका हुन् । वडा नम्बर ५ र ७ का वडाध्यक्ष तत्काालीन माओवादीतर्फका हुन् भने उपप्रमुखसहित बाँकी वडाध्यक्ष कांग्रेसका हुन् ।

 

सोही क्षेत्रका प्रदेश सभा सदस्य  धनञ्जय दवाडीले सहमतिमा नआए अस्पतालै नबन्ने दुर्भाग्य निम्तन सक्नेमा चिन्तित छन् ‘नगर कार्यपालिकाले निर्णय गरेबमोजिम अस्पताल बन्ने विधि भएकाले सोही अनुसार हुनुपर्छ । त्यसका लागि सहमतिमा आउनको विकल्प छैन,’ उनी भन्छन् ।