close

पुतलीबजारका घरघरमा करेसा, टोलमा नर्सरी

पुतलीबजारका घरघरमा करेसा, टोलमा नर्सरी

Trulli
ADVERTISEMENT

स्याङ्जा – स्याङ्जाको पुतलीबजारका किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाको संयोजनमा विभिन्न संस्थाहरूले नगददेखि बिउबिजनसम्म सहयोग गरिरहेका छन् ।


एक घर एक करेसाबारी र एक टोल एक नर्सरी निर्माण गर्ने उद्देश्यले सूर्याेदय क्लबले पुतलीबजार नगरभित्रका टोल विकास संस्थाहरूलाई बिउबिजन वितरण गरेको छ । क्लबले नगरपालिकाभित्रका दुई सय १० टोल विकास संस्थाहरूलाई बिउबिजन वितरण गरेको हो ।


‘पुतलीबजारलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक करेसा बारी र एक टोल एक नर्सरीको अवधारणा ल्याइएका हौं । अभियान सफल बनाउन किसानलाई आवश्यक पर्ने कृषि औजारदेखि मलबिउ वितरण गर्छौं’, नगरप्रमुख नगरप्रमुख सीमाकुमारी क्षेत्रीले भनिन् ।


किसानलाई फूलगोबी, बन्दा, साग, मूला र धनियाका बेर्ना टोल विकास संस्थामार्फत वितरण गरिएको  छ । यस्तै, टनेल, गँड्यौले मल, कुटानी पिसानी मेसिन र बाख्रापालनलगायत सामग्री हस्तान्तरण गरिएको छ ।


नगरपालिकाको संयोजनमा प्राप्त औजार तथा बिउबिजनका कारण व्यवसाय राम्रो भएको पुतलीबजारका किसान शिवप्रसाद लामिछाने बताउँछन् ।


पुतलीबजारको एक करोड ३६ लाख र युएनडीपीको एक करोड गरी दुई करोड ३२ लाख रुपैयाँमा सूर्याेदय क्लब बाडखोलाले काम गर्दै आएको छ ।


‘संयुक्त कार्यक्रम गर्दा सफल भएको देखिएपछि तीन वटा संस्था मिलेर किसान हितका काम गरेका छौं । यसमा कोरोनाबाट प्रभावित, महिला तथा जनजातिलाई सहयोग पुगेको छ’, क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले भने । श्रेष्ठका अनुसार नगरका १४ वटै वडामा कार्यक्रम लागू गरिएको छ ।


क्लबले टोल विकास संस्थाका पाँच सय घरधुरीलाई तरकारीका बेर्ना उपलब्ध गराएको छ । उनीहरूले उत्पादन गरेको तरकारी व्यवस्थापन नगरपालिकाले नै गर्नेछ ।