close

आठ वर्षमा बल्ल बन्यो जनकपुर विमानस्थलको टर्मिनल भवन, मंगलवारबाट सेवा

आठ वर्षमा बल्ल बन्यो जनकपुर विमानस्थलको टर्मिनल भवन, मंगलवारबाट सेवा

Trulli
ADVERTISEMENT

धनुषा– नेपालकै पुरानो मध्येको एक जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ । आठ वर्षको प्रतीक्षापछि मंगलवार (पर्सी) भवनको विधिवत उद्घाटन हुने तय भएको जनकपुर विमानस्थल प्रमुख किरण गौतमले पालिकाखबरलाई बताए ।

 

झन्डै ५० करोड़को लागतमा नयाँ टर्मिनल भवन निर्माण भएको हो । अब जनकपुर विमानस्थलले आधुनिक स्वरुप ग्रहण गर्ने गौतमले बताए । भवन उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्नेछन् ।


नयाँ टर्मिनल भवनबाट यात्रुले खानेपानी, पार्किङलगायत सबै सेवा सहज रुपमा पाउनेछन् । विमानस्थलको स्वरुप फेरिएपछि जनकपुरमा आन्तरिक र बाह्य पर्यटक भित्रिने अपेक्षा स्थानीयको छ ।

मुलुककै पुरानो हवाई अड्डा

विमानस्थल ८ असोज, २०२४ देखि सञ्चालनमा आएको थियो । त्यतिबेला एउटा मात्रै जहाज उड्न मिल्ने गरी भारतले बनाइदिएको जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र अव्यवस्थित छ ।


दुईतले सानो भवनकै माथिल्लो तल्लामा रहेको पुरानै टावरबाट जहाज उडान र अवतरण भइरहेको छ । नयाँ टर्मिनल भवन निर्माण सुरु गरिएको पनि वर्षौं बितिसकेको छ ।


जनकपुर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार निर्माण थालिएको नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गएिको छ ।  


निर्माण सुरु भएपछि प्राविधिक त्रुटि तथा रकम अभावले अहिलेसम्म पूरा हुन सकेको थिएन । विमानस्थल निर्माण वर्षौंदेखि सुरु भए पनि सरोकारवाला निकायको ढिलासुस्तीका कारण ढिलाइ भएको जनकपुर नागरिक समाजका सदस्य मुरली मनोहरले बताए ।


विमानस्थल कर्मचारीका अनुसार आन्तरिक टर्मिनल भवनअन्तर्गत जनकपुर विमानस्थलमा बनाइएको यो भवन नेपालकै नमुना हो । अढाई तले यो भवन फलामकै जगमा उभ्याइएको छ ।


२०६९ कात्तिकमा १८ करोडको लागतको यो भवनको  तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गरेका थिए ।


डेढ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच १५ असोज, २०६९ असोजमा सम्झौता भएको थियो । डिजाइनमै त्रुटि देखिएको भन्दै ठेकेदार कम्पनीले समयमा काम सक्न नसकेको बताउँदै आएको थियो ।


ठेकेदारले काममा ढिलासुस्ती गरेपछि डिजाइन र स्टिमेटमा सुधार गरी ६ करोड रुपैयाँ पुनः थप गरियो । समयमा काम नभएपछि पुनः अर्को निर्माण कम्पनी ढेकिङ ग्याल्बा उमा एन्ड कम्पनीको मूल ठेक्कामा स्थानीय अम्बे बिल्डर्सलाई सबकन्ट्याक्ट दिएर निर्माण अघि बढाइएको हो ।


जनकपुर प्रदेश २ को राजधानी भएपछि अहिले हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । नयाँ टर्मिनल भवनसँगै अत्याधुनिक टावर पनि बनाइएको छ । बर्खायाममा डुबानमा पर्ने पुरानो टर्मिनल भवन भत्काएर एप्रोन एरिया छुट्याइएको छ ।


टर्मिनल भवन अभावका कारण ५२ वर्ष पुरानो भवनबाटै यात्रुले सेवा लिनुपर्ने बाध्यता छ । विमान कम्पनीको काउन्टर बीचमै हुँदा यात्रुले सानो भवनमा प्रतीक्षा गर्नुपर्छ । विमानस्थलमा धावन मार्ग र पार्किङस्थल फराकिलो बनाएर स्तरोन्नति गरिएको छ ।


विमानस्थलमा अहिले फ्युलिङ, वारुण यन्त्र र एक्सरे मेसिनसमेत जडान भएको छ । रात्रि उडानको सफल परीक्षण गरिसकेको यो विमानस्थलमा नेपाल आयल निगमले इन्धन भण्डारण सुविधा पनि सञ्चालनमा ल्याएको छ ।


कोरोना संक्रमण सुरु हुनुपूर्व जनकपुर र काठमाडौंका लागि बुद्ध र यती एयरका ६  विमानले दैनिक उडान भर्दै आए पनि अहिले दैनिक ५ उडान मात्र हुने गरेको छ । अहिले जनकपुरबाट बुद्ध एयरको ७२ सिटे विमानको ३ उडान र यती एयरले ७१ सीटे १ उडान र श्री एयरको ८० सीटको एउटा गर्दै आएको छ ।