close

पाँच महिनादेखि पाएनन् थिमीका स्थानीयले सामाजिक सुरक्षा भत्ता

पाँच महिनादेखि पाएनन् थिमीका स्थानीयले सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

भक्तपुर– मध्यपुर थिमी नगरपालिकाका ज्येष्ठ नागरिक, अपांगता भएका तथा एकल महिलाले ५ पाँच महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।


आर्थिक वर्ष २०७७/०७८ को पहिलो किस्ता कात्तिक मसान्तसम्म पाउनुपर्ने भए पनि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादले लाभग्राहीले भत्ता नपाएका हुन् ।


नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन पटक–पटक लिन गए पनि पाउन नसकिएको स्थानीयको गुनासो छ । पुरानो थिमीकी ६५ वर्षीया एकल महिला सुलचना सुदाकारले नगरले असार मसान्तयता भत्ता नदिएको बताइन् ।


‘हामी समय–समयमा भत्ता लिन गयौँ तर रित्तो हात लिएर फर्कियौँ,’ उनले भनिन्, ‘अफिसमा हाकिम आएको छैन भन्नुहुन्छ अनि फर्काएर पठाउनुहुन्छ ।’


उनका अनुसार गत असार मसान्तमा पालिकाले पैसा दिए पनि त्यसयता पैसा आएको छैन । यस वर्षको भत्ता कात्तिक मसान्तमा वितरण गर्नुपर्ने भए पनि दुई महिना नाघिससक्दासम्म नगरले भत्ता वितरण गर्न नसकेको हो ।


नगरपालिकाको सामुदायिक विकास तथा वातावरणीय सरसफाइ शाखाका कृष्णा श्रेष्ठका अनुसार भत्ताका लागि सबै प्रक्रिया पूरा भए पनि प्रशासकीय अधिकृतको कारण रोकिएको हो ।


‘यहाँबाट हुने सबै प्रक्रिया पूरा भइसकेको छ । अब प्रशासकीय अधिकृतको हस्ताक्षर मात्रै बाँकी छ,’ उनले भनिन्, ‘उहाँ आएपछि मात्र हामीले यो भत्ता वितरण गर्न सक्छौँ । त्योभन्दाबाहेक अरू विकल्प हामीसँग छैन । आशा गरौँ, उहाँ चाँडै कार्यालय आउनुहुन्छ ।’
 

नगरबाट सामाजिक सुरक्षा भत्ता लिने नागरिकको संख्या ३ हजार ७ सय ७९ छ । उनीहरूका लागि सामान्य प्रशासन मन्त्रालयले पहिलो चौमासिकमा ३ करोड ९८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।