close

पर्यटन पूर्वाधार बनाउन मंगला र ताराखोलाको सहकार्य

पर्यटन पूर्वाधार बनाउन मंगला र ताराखोलाको सहकार्य

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका- ५ र बाग्लुङको ताराखोला गाउँपालिका- ४ को सिमानामा रहेको तीनचुलेको पर्यटन पूर्वाधार निर्माणका लागि दुईवटा पालिकाले सहकार्य गरेका छन् ।

 

तीनचुलेको पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि साझेदारी गर्न दुईवटा गाउँपालिकाका सरोकारवालाबीच आइतबार अन्तर्क्रिया तथा छलफल भएको छ ।


दुईवटा पालिकाको सिमानामा पर्ने तीनचुलेको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धन गर्ने विषयमा छलफल भएको हो ।  


मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर, मंगला- ५ का वडा अध्यक्ष भूपेन्द्र खत्री, ताराखोला- ४ का अध्यक्ष जीतबहादुर खत्रीले तीनचुलेलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न दुवै पालिका मिलेर सडक, खानेपानी र पदमार्ग निर्माण गर्ने बताए ।

 


ताराखोला गाउँपालिकाले तीनचुलेमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सुरु गरेको छ । दुई हजार ९७० मिटरको उचाइमा अवस्थित तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएर पनि पूर्वाधार र प्रचारप्रसारका कारण ओझेलमा परेको छ ।


ओझेलमा परेको तीनचुलेको पर्यटन विकास गर्न स्थानीय सरकार र समुदायले चासो दिएका छन् । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल, बाग्लुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।


तीनचुलेमा मन्दिर पनि भएकाले यहाँको धार्मिक महत्त्वसमेत छ । अर्मनको किमचौरबाट गाडी र पैदलयात्रा गरेर डेढ घण्टा तथा ताराखोलाबाट एक घण्टा उकालो हिँडेपछि तीनचुलेमा पुग्न सकिन्छ ।