close

हिमाली क्षेत्रमा पहिलो पटक अल्ट्रासाउण्ड सुविधा

हिमाली क्षेत्रमा पहिलो पटक अल्ट्रासाउण्ड सुविधा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको हिमाली क्षेत्र वडा नं. ५ पापुङमा पहिलो पटक अल्ट्रासाउण्ड मेसिन पुगेको छ । घुन्सा फउण्डेसनको तीन लाख र प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले गरेको एक लाख ७५ हजार सहयोग गरी चार लाख ७५ हजार रुपैयाँको लागतबाट पापुङ स्वास्थ्य चौकीका लागि अल्ट्रासाउण्ड मेसिन पठाइएको घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन् । 


‘त्यहाँको स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता लाग्यो, त्यही भएर अल्ट्रासाउण्ड मेसिन पठाउँदा ठीक होला भनेर योजना गरेँ’, शेर्पाले भनिन् । ‘फाउण्डेसनमा भएको पैसाले नपुगेपछि मैले ‘मा’लाई अवस्थाका बारेमा बताए’, ओली पत्नी शाक्यप्रति संकेत गर्दै शेर्पाले थपिन् । शाक्यले गरेको सहयोगमा फउण्डेसनको रकम थप गरेर त्यहाँ मेसिन पठाइएको उनले जानकारी दिइन् । 


यो कार्यमा तत्कालीन संविधानसभाका सदस्य पासाङ शेर्पा, तोक्पेगोला सेवा समाजका अध्यक्ष डण्डु लामा र महासचिव दावासङ्मु शेर्पासहितको अथक सहयोग रहेको उनले बताइन् । प्राप्त भएको अल्ट्रासाउण्ड मेसिन चाँडै संचालनमा ल्याउने तयारी भइरहेको वडा अध्यक्ष डण्डु लामाले बताए । 


घुन्सा फउण्डेसन सामाजिक अभियन्ता याङ्जोमको अगुवाइमा स्थापित संस्था हो । तोक्पेगोला सेवा समाज तोक्पेगोला क्षेत्रका बासिन्दाहरूको अगुवाइमा स्थापित संस्था हो । केही समयअघि सहज उपचारको अभावमा स्थानीय एक महिलाले गर्भमा रहेको बच्चासहित ज्यान गुमाएको कारुणिक कथाले त्यहाँ अल्ट्रासाउण्ड मेसिन पठाउन प्रेरित गरेको याङ्जोमको भनाइ छ । 


त्यही अल्ट्रासाउण्ड मेसिन भएको भए गर्भ रहेको केही समय पछि नै पेटमा बच्चा कसरी बसेको छ भनेर अवस्था पत्तो लगाउन र जटिल भए थप उपचारका लागि बाहिर जाने अवस्था बन्न सक्ने भएकाले अल्ट्रासाउण्ड मेसिन लाभप्रद हुने उनको विश्वास छ । वडा अध्यक्ष शेर्पाका अनुसार प्राप्त भएको मेसिन संचालन गर्न सुरु गरिएको छैन । 


‘अल्ट्रासाउण्ड मेसिन चलाउन तालिम चाहिँदो रहेछ, यहाँ भएका स्वास्थ्यकर्मीलाई मेसिन संचालनको तालिम दिलाउन प्रयत्न गरिरहेका छौँ’, उनले भने । घुन्सा फउण्डेसनका अध्यक्ष याङ्जोमले आफैँले मेसिन संचालन प्रक्रियामा त्यहाँका स्वास्थ्यकर्मी तालिमलाई दिलाइदिन सहजीकरण गरिरहेका छन् । 


समान्यतया अल्ट्रासाउण्ड मेसिन कुनै परीक्षणका लागि प्रयोग गरिन्छ । एक्सरे, एमआरआई, सिटी स्क्यान जस्तै अल्ट्रासाउण्ड पनि परीक्षणको प्रविधि हो । अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ । यसलाई रोग पत्ता लगाउने महत्त्वपूर्ण प्रविधिको रूपमा लिइन्छ । 

 

यसको सबैभन्दा बढी प्रयोग पेटका लागि गरिन्छ । पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि भएको चिकित्सकहरू बताउँछन् । पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ । कलेजो वा मिर्गौलामा कुनै समस्या छ भने पनि अल्ट्रासाउण्ड नै गरिन्छ । पेटका कुनै अंगहरूमा समस्या छ भने त्यो पत्ता लगाउन पनि अल्ट्रासाउण्ड गरिन्छ । यो बच्चादेखि बालबालिकासम्मलाई प्रयोग गर्न सकिन्छ ।