close

फुट अघिको नेकपाः २ अध्यक्ष, २ संसदीय दलका नेता !

फुट अघिको नेकपाः २ अध्यक्ष, २ संसदीय दलका नेता !

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक राजनीति राेचक बन्दै गएको छ ।


अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एकले अर्कोलाई कारवाही गर्नेमात्र होइन संसदीय दलका नयाँ नेतासमेत खडा भएका छन् ।


प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेका ओलीले देशवासीका नाममा आफ्नो कदमको औचित्य सावित गरिरहेका वेला भेला भएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल पक्षधर सांसदहरुको भेलाले प्रचण्डलाई संसदीय दलको नेता घोषणा गर्दै संसद सचिवालयमा जानकारी पठाएका छन् ।


यसअघि यो समूहले स्थायी कमिटीले अध्यक्ष ओलीलाई कारवाही प्रकृया अघि वढाएको पत्र निर्वाचन आयोगलाई पठाइसकेको छ ।

 

प्रचण्ड– नेपाल समूहले ओली खेमाविरुद्धको एक्सन तिव्र पारेपछि ओली खेमाले भोलि विहान ९ बजे पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रचण्ड–नेपाल खेमाले भने दिउँसो १ बजे बैठक डाकेको छ ।


ओली खेमाको बैठकले १ बज्नु अघि नै केन्द्रीय कमिटी बैठकबाट कार्यकारी अध्यक्ष प्रचण्डलाई कारवाही गर्ने निर्णय गर्ने ओली पक्षका एकजना नेताले पालिकाखबरलाई बताए ।


उता दुवै गुटप्रति असन्तुष्ट नेताहरु भने पर्ख र हेरको रणनीतिमा छन् । गृहमन्त्रीसमेत रहेका नेता बादल नेतृत्वको एउटा समूह अझै पर्ख र हेरको अवस्थामा छ भने ओली निकट मानिएका केही नेता दुवै पक्षले डाक्ने बैठक र भेलामा नजाने अडानमै छन् ।


दुवै खेमाका नेताहरुको समानान्तर गतिविधिका कारण पार्टी औपचारिक विभाजनको नजिक पुगेको भन्दै केही मध्यमार्गी नेताहरु भने दुवै पक्षलाई मिलाउने अन्तिम प्रयासमा छन् ।