close

खोटाङका वडासम्म पुग्यो काठमाडौंको नेकपा विवाद

खोटाङका वडासम्म पुग्यो काठमाडौंको नेकपा विवाद

Trulli
ADVERTISEMENT

खोटाङ– सत्तारुढ नेकपाको विवाद खोटाङका वडा तहमै पुगेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहमा खुल्ने वा अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहको समर्थन गर्ने भन्नेमा रस्साकस्सी चलेको हो । जिल्लामा दुवै पक्ष आ–आफ्नो समूह बनाउने गृहकार्यमा जुटेका छन् ।


खोटाङका प्रदेशसभा सांसद एवं केन्द्रीय सदस्य राजन राईले दुवै बैठकमा नजाने बताएका छन् । नेपाल समूहका राईले फेसबुकमार्फत तटस्थ बस्ने उल्लेख गरेका हुन् ।


‘मंगलबार केन्द्रीय समितिको बैठक भनिएकामा कुनै पनि गुट भेलामा म सहभागी हुँदिनँ,’ राईले फेसबुकमा लेखेका छन् । नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई भने ओली समूहको बैठकमा सहभागी भएका छन् । उनी ओली निकट मानिन्छन् ।


यस्तै, प्रचण्ड निकट प्रदेशसभा सांसद एवं केन्द्रीय सदस्य रामकुमार राई पनि प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका छन् । राईले सामाजिक सञ्जालमार्फत ओलीको प्रतिक्रान्तिविरुद्ध लड्न आह्वानै गरेका छन् ।

 

‘केपी ओलीको प्रतिक्रान्ति कदम खलनायक सावित भयो । प्रतिक्रान्तिविरुद्ध सशक्त लडौँ,’ राईले लेखेका छन्, ‘वास्तविक सिद्धान्त, विचारको कम्युनिस्ट पार्टीमा लागौँ ।’ खोटाङका तीन जना प्रदेशसभा सांसदमध्ये उषाकला राई केन्द्रीय समितिमा छैनन् ।

 

प्रतिनिधिसभा विघटनमा कसले के भने

 

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले प्रतिनिधिसभा विघटनलाई ‘जनताको जनमतको अपहरण गरेको कालो दिन’ भनेका छन् । यस्तै, साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले प्रतिनिधिसभा विघटनले सिंगो राज्य व्यवस्थालाई कमजोर पार्ने काम भएको बताएका छन् ।

‘कुनै नेता र गुटको हार–जितभन्दा पनि विघटनले सिंगो राज्य व्यवस्थालाई कमजोर पार्ने काम भएको छ,’ पूर्वमाओवादीबाट निर्वाचित अध्यक्ष खड्काले लेखेका छन्, ‘यसको पक्षमा लाग्नेहरूको कुनै दिन इतिहासले मूल्यांकन गर्नेछ । कम्युनिस्ट विचार, सिद्धान्तबाट पलायन भएको तथ्य इतिहासले बिर्सने छैन ।’

 

प्रतिनिधिसभा विघटनकै बेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले स्ट्रबेरीको बोट पोस्ट गर्दै ‘माथि जेसुकै हुँदै गरे पनि कम्पोस्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रमा स्ट्रबेरी पाक्न थाल्यो’ लेखेका छन् ।