close

स्थानीय सरकार आएपछि फेरिएको एउटा शहर

विकासमा अब्बल बन्दै छ सूर्यविनायक

स्थानीय सरकार आएपछि फेरिएको एउटा शहर

विकासमा अब्बल बन्दै छ सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर– ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेर जनप्रतिनिधि केन्द्र र गाउँका सिंहदरबारमा छिरेको पनि साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका स्थानीय सरकार आआफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । फरक यति हो कि कुनैले जनतालाई दिएका प्रतिबद्धता पूरा गर्दै आएका छन् भने कुनैले गफ मात्र हाँक्दै आएका छन् ।


भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय सरकारले मात्र होइन, यस क्षेत्रका सांसदले समेत आफूहरूले दिएको मतको उचित प्रयोग गरेको उनीहरूको मूल्यांकन छ ।


‘स्थानीय चुनावपछि गाउँमा विकासको लहर नै आयो’, स्थानीय राजेन्द्र तचपाल भन्छन्, ‘सानो बाटो ठूलो भयो, कच्ची सडक पिच भयो । एक कुनाको सडक अर्को सडक जोडियो । अझै राम्राराम्रा काम गर्दै आएका छन् ।’


स्थानीय सरकारले गत तीन वर्षमा विकासका कार्य गरिरहे तापनि लामो समय लगाएर गरेको स्थानीयको गुनासो छ । एक स्थानीयले भने, ‘सडकको स्तरोन्नति गर्दै आएको छ तर दुई महिनाको काम छ महिनासम्म लाग्ने गरी, जसको मारका स्थानीय जनता परेका छन् ।’


नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको जनप्रतिनिधिहरूको दाबी छ ।


नगरपालिकाका उपप्रमुख जुना बस्नेतका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् । ती अपेक्षाहरु हामीले पूरा गर्दै आएका छौँ । ‘सडकको स्तरोन्नति, १५ वटा पुलको निर्माण, ३३ करोड रुपैयाँ लगानीमा नगरपालिका कार्यालय भवन, १० वटै वडाका वडा कार्यालय, छवटा वडामा १५ लाख लिटर पानी अट्ने पानी ट्यांकीको निर्माण, २५ सामुदायिक विद्यालयका भवन र अस्पताल तथा शहरी स्वास्थ्य क्लिनिक बनाएका छौँ ।’


उनले कृषिका लागि बजारको व्यवस्थापन, महिलाको सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू आफूहरूले ल्याएको दाबी गरे ।


आफूले प्रतिबद्धता जनाएका योजनामध्ये केही मात्र बाँकी रहेको उनी बताउँछन् । उनले भने, ‘अवको डेढ वर्षको समयावधिमा बाँकी रहेको सबै प्रतिबद्धता हामी पूरा गर्नेछौँ ।’

 
कोरोनाले कृषकको सामग्री खेतमा कुहिएकाले यस वर्ष कृषि भण्डारण केन्द्र, प्रत्येक वडामा हात बजारको निर्माण, कौसी खेतीलगायतको परियोजनाका लागि बजेट विनियोजनसमेत भएको उनले जनाएकी छन् ।