close

लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली परियोजना

लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली परियोजना

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवलमा श्रम बजार सूचना प्रणाली विकास (ईएलएमएस) परियोजना सुरु भएको छ । परियोजनाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले शुभारम्भ गरे ।

 

कार्यक्रममा प्रदेश प्रमुख यादवले उपलब्ध जनशक्तिको प्रयोग र सही परिचालनका लागि सुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

कुनै पनि क्षेत्रको विकास सही सूचना र तथ्यांकबिना हुन सक्ने उल्लेख गर्दै उनले सीपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

 

प्रदेश प्रमुख यादवले भने, ‘परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रम अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिनेछ । यसको सफलताबाट श्रम बजारमा रहेको वैदेशिक निर्भरतालाई कम गर्न सफलता मिल्ने विश्वास छ ।’ 

 

कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ अध्यक्ष सतिशकुमार मोरले मुलुकभित्र औद्योगिक व्यावसायिक क्षेत्रले श्रम बजारसम्बन्धी आवश्यक तथ्यांक एवं जानकारी अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने बताए ।

 

उनले भने, ‘मुलुकको औद्योगिक विकासमा सहयोग पुर्‍याउने, श्रम बजारसम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, रोजगारी सिर्जना गर्ने, श्रम बजारसम्बन्धी तथ्यांक प्रणालीको विकास गर्न परियोजना कोसेढुंगा हुनेछ ।’ 


अध्यक्ष मोरले श्रम बजारमा माग र आपूर्ति व्यवस्थापनमा सहयोग गरी मुलुकको औद्योगिक विकासमा सघाउ पु¥याउने बताउँदै परियोजनाबाट श्रम बजारसँग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्ने जानकारी दिए ।


नेपाल सरकारद्वारा स्वीकृत यो परियोजनामा उद्योग परिसंघलगायत नेपालका निजी क्षेत्रका पाँच वटा प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघको सहकार्य छ । यस्तै, ब्रिटिस काउन्सिलको व्यवस्थापन सहयोग र युरोपियन युनियनको आर्थिक सहयोग रहेको छ ।


परियोजना देशभरका ७ वटै प्रदेशमा सञ्चालन हुन गइरहेको रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए । 

 

कार्यक्रमको मुख्य उद्देश्य कृषि, पर्यटन र निर्माण उद्योग व्यवसायअन्तर्गत काम गर्ने श्रमिक कामदारको व्यावसायिक वर्गीकरण र पहिचानका साथै श्रम बजार सूचना प्रणालीको विकास गरी निजी क्षेत्रका प्रतिनिधि संस्थाको संयुक्त प्रयासमा संस्थागत संरचना सुरु गरिएको रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले बताए ।

 

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव रेवतीरमण पौडेल, उद्योग परिसंघ उपाध्यक्ष वीरेन्द्र राज पाण्डे, परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमलगायतले बोलेका थिए ।