close

'राजनीतिक भाइरस'ले कोरोना जोखिम निम्त्याउने त्रास

'राजनीतिक भाइरस'ले कोरोना जोखिम निम्त्याउने त्रास

Trulli
ADVERTISEMENT

जुम्ला- गत ५ पुसमा प्रतिनिधिसभा विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सुरु भएको विवादले जुम्लामा कोरोना महामारी नियन्त्रण अभियान पनि ओझेल परेको छ । प्रधानमन्त्री केपी ओली पक्ष र नेकपा अध्यक्ष प्रचण्ड-नेपाल पक्ष एकआपसमा भिडेपछि जुम्लामा कोरोना महामारीको चर्चा सेलाउन थालेको हो । 

 
कोरोना महामारीमा जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने बेला जुम्लामा पनि नेकपाका कार्यकर्ता पक्ष-विपक्षमा बाँडिएर विरोध प्रदर्शनमा उत्रिएका छन् । 


कोरोना संक्रमण फैलावट रोक्न २५ जनाभन्दा बढी व्यक्ति भेला गर्ने नपाइने मापदण्ड बनाउने सरकारले आफ्ना पार्टीका सयौँ नेता-कार्यकर्ताको भीडले जिन्दावाद-मुर्दावादको नारा लगाउँदासमेत बेखबर देखिएको जुम्लाको नागरिक समाजका अगुवा बताउँछन् ।

 

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा चिसो बढेसँगै यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । जाडोको कारण पानी छुनसमेत नसकिने अवस्थामा विद्यालय संचालनदेखि भेला, हुलहुज्जत गर्ने कार्यले कोरोना संक्रमणको जोखिम बढ्ने उनीहरूको अनुमान छ । 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रध्यापक बालरोग विशेषज्ञ डा. सुनिल बुढाथोकीका अनुसार कोरोना भाइरस जाडो र सुक्खा मौसममा बढी सक्रिय हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । 

 

‘जाडो मौसममा चिसो र सुक्खा हुने भएकाले भाइरस बढी सक्रिय रहने गर्छ । यसले जाडो मौसममा जोखिम झनै बढेर जाने सम्भावना छ’, डा. बुढाथोकीले भने, ‘अहिलेको राजनीतिक घटना क्रम हेर्दा कोरोना नभएझैँ देखियो । विरोध प्रदर्शन र समर्थनका नाममा नेकपा कार्यकर्ताको भीडले कोरोना जोखिम बढाउन सक्छ ।’

 

कर्णाली माध्यमिक विद्यालय जुम्लामा अध्ययरत छात्रा रोशनी बुढा कोरोना संक्रमणको डर-त्रासकै बीच विद्यालय आएर पठनपाठन गरिरहे पनि अहिले सावधानी अपनाउन कतैबाट कडाइ नहुने गरेको सुनाउँछिन् । 

 

उनले भनिन्, ‘कोरोनाका कारण लामो समय विद्यालय सञ्चालनमा आएनन् । घरमा बसेर वैकल्पिक कक्षा लिने माध्यम पनि भएन । अहिले त पहिलेजस्तै छ । कसैले नियन्त्रणको प्रयास गरेको देखिँदैन ।’

 

कोरोनाबाट बच्न मास्क प्रयोग गर्ने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने भनिए पनि त्यस्तो अवस्था नरहेको उनको भनाइ छ । सुरुसुरुमा विद्यालय आउँदा तापक्रम नाप्ने गरिए पनि अहिले विस्तारै हराउँदै गएको उनले बताइन् । 

 

कर्णाली माध्यमिक विद्यालय जुम्लाका प्रधानाध्यापक मीनराज शर्माका अनुसार कोरोना संक्रमणका कारण गत ११ चैतदेखि बन्द भएका विद्यालय ३ कात्तिकदेखि मात्र संचालनमा आएका छन् । 

 

‘यहाँको शैक्षिक सत्र फागुनदेखि सुरु भएर मंसिरमा सम्पन्न हुनुपर्ने हो’, शर्माले भने, ‘चैतमा वार्षिक परीक्षा लिने तयारी गरेका छौँ । अझै पनि कोरोना संक्रमणको डर-त्रास भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालनमा ल्याए पनि सरकारले कडाइ गरेको छैन ।’ 


कोरोना संक्रमणका कारण सरकारले आधिकारिक रूपमा विद्यालय संचालन गर्ने निर्णय नगरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा बताउँछन् ।

 

‘शिक्षा मन्त्रालयले विद्यालय कार्य संचालनको ढाँचा पेस गरेपछि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको हो । तर, स्थानीय तहले जोखिम लिएर कोरोना संक्रमण नभएका ठाउँमा विद्यालय सञ्चालन गर्न सक्छन् भन्ने हिसाबले सहमति दिइएको हो,’ थापाले भने ।

 

जनस्वास्थ्य र सुरक्षाका मापदण्डलाई पालन गरी कोरोना संक्रमणको जोखिम नभएका समुदायमा विद्यालय संचालन गर्न सकिने भनिए पनि यहाँ जोखिमलाई ध्यान नदिएर पढाइ सुरु गरिएकाले समस्या भएको उनको दाबी छ ।

 

जुम्लामा ११ हजार ५४८ को कोरोना परीक्षणमा ४५५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४४० जना निको भएका छन् भने अझै १५ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।