close

नेकपाको कार्यालयमा भोटे ताल्चा, कांग्रेस कार्यालयमा भीडभाड

नेकपाको कार्यालयमा भोटे ताल्चा, कांग्रेस कार्यालयमा भीडभाड

Trulli
ADVERTISEMENT

ओखलढुंगा–  शुक्रबार कार्यालयका कर्मचारी कमल धमला सधैँ भीडभाड  हुने नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय बन्द गरेर घर गए । शनिबार नेकपाको कार्यालय खुल्दैन थियो । आइतबार आउँदा कार्यालयमा आफूले लगाएको तालामाथि चेनसहितको अर्को भोटे ताल्चा झुण्डिएको देखे ।


आइतबार बिहानै ओली खेमाका भनेर चिनाउने दुई–तीन जना युवाहरू आएर कार्यालयमा ताला लगाएको प्रत्यक्षदर्शीले बताए । उनीहरूका अनुसार ताला लगाएर उनीहरूले कसैले खोलेमा नराम्रो हुने चेतावनीको भाषामा आपसी कुरा गरेका थिए ।  


अहिले झडप हुने अवस्था आएको देखेपछि स्थानीय प्रशासनले त्यहाँ प्रहरी परिचालन गरेको छ । पार्टी कार्यालय अगाडि नेता, कार्यकर्ता होइन, प्रहरी देखिन्छन् ।

 

उता, कांग्रेस कार्यालयमा भने दैनिक रूपमा चहलपहल बढेको छ । प्रायः सुनसान हुने कार्यालयमा नेताहरूको भीडभाड छ । संसद विघटन, निर्वाचनलगायतका विषयमा नेताहरू छलफलमै व्यस्त हुन्छन् । सत्तारुढ नेकपा विधिवत विभाजन भएर एक अर्को खेमाका फरकफरक गतिविधि गर्ने, एक अर्को खेमालाई निषेध गर्ने अभ्यासमा छन् ।


नेकपा कार्यालयको तालाबन्दीले जिल्लामा बहस ल्याएको छ । यो कार्यालय साविक नेकपा एमाले जिल्ला कमिटीले निर्माण गरे पनि पुष्पलाल स्मृति प्रतिष्ठानका नाममा छ । प्रतिष्ठानमा हाल नेकपाकै नेताहरू छन् । प्रतिष्ठानका पदाधिकारी प्रचण्ड–नेपाल खेमामा छन् ।


अध्यक्ष यज्ञराज सुनुवार माधव नेपाल निटक केन्द्रीय सदस्य हुन् । अन्य पदाधिकारीसमेत नेपाल खेमामा छन्, केही खुलेका छैनन् । कम्युनिस्ट आन्दोलनका संस्थापक नेताको स्मृतिमा गठित संस्थालाई पार्टीको गुट र फुटको निशानामा पार्नु कम्युनिस्ट आन्दोलनमाथिको गद्दारी हुने प्रतिष्ठानका उपाध्यक्ष नेत्र भट्टराई बताउँछन् । उनी दुवै पक्षमा नखुली फुटको विरोधमा छन् ।


जनप्रतिनिधिलाई बजेट कतौती हुने चिन्ता

 

जिल्लाका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भने निर्वाचन घोषणाले विकास बजेट कटौती हुने चिन्तामा छन् । ‘हामीले गरेका प्रतिबद्धता पूरा गर्न समस्या आउने र विकास पछि पर्ने देखेको छु’, कांग्रेसबाट निर्वाचित सिद्धिचरण नगरपालिका– ११ का वडा अध्यक्ष विनोद केसीले भने । नेकपाको विभाजित राजनीति वडासम्मै मुठभेडमा पुग्ने हुँदा जिल्लाको विकासलाई समेत प्रभावित पार्नेमा जनप्रतिनिधिहरूको चिन्ता छ ।    


यसअघि नेकपाबाटै जिल्लाका चार स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा पराजित कांग्रेसका कार्यकर्ता भने नेकपा विभाजनबाट कांग्रेसले निर्वाचन जित्ने आँकलन गरेर उत्साहित छन् । नेताहरू भने संसद विघटन लोकतन्त्रमाथिको कू भनेर विरोधमा छन् ।


जिल्ला सचिव तथा सुनकोसी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारी प्रधानमन्त्रीको कदमलाई दुर्भाग्यपूर्ण कदम भन्छन् । उनले भने, ‘यसले देश विकास पछि धकेलिन्छ ।’


नेता, कार्यकर्ता तान्ने होडबाजी


विभाजित नेकपाका दुई खेमा आफ्नो पक्षमा कार्यकर्ता तान्ने कसरतमा छन् । ओली खेमाले पाँच जना नेताहरूलाई महाधिवेशन आयोजक समितिमा मनोनीत गरेपछि नेपाल–प्रचण्ड खेमाका नेता गाउँमा पुगेर नेकपाको भावी रणनीति र आधिकारिकताबारे छलफल गरेका छन् । तानातानमा केही नेता, कार्यकर्ता आधिकारिकतालाई पर्खेर तटस्थ बसेका छन् ।


धेरैजसो खुलेका जिल्ला सदस्य तथा अगुवा कार्यकर्ता नेपाल– प्रचण्ड खेमामा देखिएका छन् । सुनकोसी, चम्पादेवी र चिशंखुगढी गाउँ कमिटीका सबै पदाधिकारी तथा नेताहरू एकीकृत नेकपाको पक्षमा विज्ञप्ति जारी गरेर संसद विघटनको विरोधमा रहेको नेकपाका जिल्ला इञ्चार्ज रहेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।