close

काठमाडौंका मेयरले भनेः चक्रपथका कारण मोनोरेल कुदाउन पाइनँ

काठमाडौंका मेयरले भनेः चक्रपथका कारण मोनोरेल कुदाउन पाइनँ

Trulli
ADVERTISEMENT

काठमाडौँ– काठमाडौँ महानगरपालिका प्रमुख विद्याशुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकिएको बताएका छन् । काठमाडौँ महानगरको वडा नम्बर ३१ कार्यालय भवन शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन् ।


काठमाडौँ महानगरको नेतृत्व सम्हालेपछि धेरै काम सम्पन्न गरे पनि केही प्रतिबद्धता व्यक्त गरेका काम भने अघि बढाउन नसकेको उनले स्वीकारे । महानगर प्रमुख शाक्यले भने, ‘त्यमध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइनसकेकाले त्यो काम गर्न सकेनौँ ।’


धरहरा बनाउने घोषणा निर्माण सम्पन्नको चरणमा पुगेकाले पूरा भएको नगरप्रमुख शाक्यले बताए । उनले भने, ‘दरबार हाइस्कुल सम्पन्न भयो । रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो । काष्ठमण्डप निर्माण सम्पन्नको चरणमा छ ।’


चुनावअघिको काठमाडौँको बाटो र अहिलेको बाटोमा धेरै फरक भइसकेको भन्दै अधिकांश ठाउँमा ढलान गर्ने, ढुंगा छाप्ने काम सम्पन्न भएको उनको दाबी छ । धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको महानगरप्रमुख शक्यको तर्क छ ।

 

‘सरोकारवाला निकायको समन्वय अभावले केही समस्या भए पनि वचनमा प्रतिबद्ध छौँ । हामी अरूले नगरेका काम आफ्नै खर्चमा गरेर महानगरबासीका गुनासा समाधान गर्ने प्रयासमा लागिरहेका छौँ,’ शाक्यले भने ।


 
जात्रा–पर्वलाई जीवन्त राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको उनले बताए । शाक्यले भने, ‘गुठियारहरूलाई सम्मान गर्ने काठमाडौैँ महानगरले नीति नै बनाएको छ । परम्परागत बाजा गुरुहरूलाई राज्यकै तर्फबाट सम्मान गर्ने चलन सुरु गरेका छौँ । कुमारी जात्रालाई निरन्तरता दिन ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका छौँ । सेतो मच्छिन्द्रनाथलगायत जात्राका लागि महानगरपालिकाले सहयोग गर्दै आएको छ ।’

 

३२ वटै वडा भवन मेरै कार्यकालमा बन्छन्


शाक्यले काठमाडौँ महानगरले सबै निर्णय सर्वसम्मत गर्दै आएको बताए । ‘चुनावी प्रतिबद्धताअनुसार काठमाडौँ महानगरले आफ्नो केन्द्रीय भवन बनाउन सकेको छैन । मुद्दा हालेर रोकेपछि यो सम्भव नभएको हो,’ उनले भने ‘जनताबाट समर्थन प्राप्त भएको छ । बजेटको समस्या छैन । बजेटका कारण अहिलेसम्म कुनै पनि काम रोकिएको छैन । तर, कहिले अख्तियार त कहिले अदालत गुहार्दा प्रतिबद्धताअनुसार काम गर्न ढिलाइ भएको हो ।’

 

जहाँ पुराना भवन छन्, त्यसलाई स्तरोन्नति गर्ने काम अगाडि बढिरहेको उनले जानकारी दिए । ‘कतिपय अवस्थामा जग्गा नभएको ठाउँमा जग्गा खरिद गरेर पनि वडा कार्यालय भवन निर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भने, ‘हाम्रो कार्यकालभित्र खरिद प्रक्रियाको ढिलाइलगायतले केही थोरै कार्यालय भवन सम्पन्न नहोलान् तर ३२ वटै वडा भवन निर्माणको काम भने अगाडि बढ्छ ।’


हरिभवनलाई बागदरबार देखेपछि समस्या

 

केन्द्रीय भवन निर्माणमा मुद्दा–मामिलाले समस्या भएको महानगरप्रमुख शाक्यको गुनासो छ । ‘हामीले केन्द्रीय भवन बनाउने भनेको हरिभवन हो । अहिले त्यो भवनलाई बागदरबार भनेर मुद्दा हाल्ने काम भएको छ । बागदरबार एक जनाले बेच्यो, अर्कोले किनेर प्लटिङ ग¥यो । बागदरबार बेच्ने सुशीलशमशेर जबरा र किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी दुवै जना जीवितै हुनुहुन्छ । तर, मुद्दाचाहिँ बागदरबार भत्काउने प्रमुखलाई कारबाही गर्नुपर्छ भनेर हालिएको छ । बेच्ने पनि यहीँ छ, किन्ने पनि यहीँँ छ, तपाईंहरू आफैँ कल्पना गर्नुस् । यो विषयमा मेरो के दोष भएर कारबाही गर्नुपर्‍यो ?’


हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन चुनौतीसमेत उनले दिए । ‘कसैको अनावश्यक चरित्र हत्या गरेर, आरोप लगाएर आफ्नो प्रतिष्ठा उच्च हुँदैन । अरूलाई सम्मान गर्न सक्यो भने मात्रै आफ्नो पनि प्रतिष्ठा बढ्छ । विभिन्न अवरोधबीच पनि हामीले वर्षौदेखि अन्योलमा रहेको दरबार हाइस्कुल निर्माण सम्पन्न गरेका छौँ,’ शाक्यले भने, ‘रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । काष्ठमण्डप, धरहरा निर्माणको चरणमा पुगेका छन् । चुनावमा प्रतिस्पर्धा हुन्छ । त्यो स्वभाविक हो । तर, चुनावपछि सबैको ध्यान विकास निर्माणमा हुनुपर्छ ।’