close

पाथीभरा याङ्वरकले बल्ल पाउने भयो डाक्टर

पाथीभरा याङ्वरकले बल्ल पाउने भयो डाक्टर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोभिड अस्पतालका लागि ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले बल्ल डाक्टरसहितका स्वास्थ्य जनशक्ति प्राप्त गर्ने अवस्था देखिएको छ ।


गाउँपालिकाले तेस्रो पटकसम्म सूचना आह्वान गर्दा मात्र मेडिकल अधिकृत तथा अनमी भेट्टाएको छ । मेडिकल अधिकृत आठौँ तहका लागि चितवनको रत्ननगर नगरपालिका वडा नं.- १३ की बिनिता दुवाडी अन्तर्वार्ताका लागि छनोट भएकी छन् ।

 

अन्तर्वार्ताका लागि उनी एक्ली छनोट भएकाले अब उनी पाथीभरा याङ्वरक गाउँपालिकाको कोभिड अस्पतालका लागि डाक्टर चयन हुने निश्चित बनेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोका अनुसार २ जनाको दरबन्दी माग भएकामा पाँचौँ तहको स्टाफ नर्स-अनमी पदका लागि २ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

 

पाथीभरा याङ्वरक गाउँपालिका वडा नं.- ४ डुम्रिसेका चुङ्निमा सेनेहाङ र मिक्लाजुङ वडा नं.- ९ मोरङकी सजिना खङ्गी छानिएका हुन् । 


मेडिकल अधिकृत, स्टाफ नर्स र अनमी पदका लागि आउँदो २४ पुसमा अन्तर्वार्ताको मिति तय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फागोले जानकारी दिए ।

 

पहिलो र दोस्रो पटकको सूचना आह्वान गर्दा पनि गाउँपालिकाले संचालन गर्ने कोभिड अस्पतालका लागि मेडिकल अधिकृत तथा स्टाफ नर्स र अनमीको दरखास्त नै परेको थिएन ।