close

प्रदेश २ का ओली समर्थक संसदीय दलका नेता हटाउन दाहाल-नेपाल समूहकाे पत्र 

नेकपाको आन्तरिक किचलो सतहमै

प्रदेश २ का ओली समर्थक संसदीय दलका नेता हटाउन दाहाल-नेपाल समूहकाे पत्र 

नेकपाको आन्तरिक किचलो सतहमै

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो र ध्रुवीकरण सतहमै देखिन थालिएको छ । नेकपाको प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल-माधव नेपाल समूहले कार्यकर्तादेखि नेतासम्मै आफ्नो पक्षमा ल्याउन तानातान गर्न थालेका छन् ।

 

दाहाल-नेपाल समूह प्रदेश २ मा ओली समूहभन्दा बलियो रहेको नेकपाका एक प्रदेशसभा सदस्यको दाबी छ ।  जनकपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का बहुसंख्यक सदस्य र पदाधिकारीहरू प्रचण्ड-नेपाल समूहमै रहेको प्रदेशसभा सदस्य शत्रुघ्न महतोले दाबी गरे ।

 

प्रदेश २ मा नेकपा संसदीय दलका नेता मण्डलमाथि कारबाही गर्न २ दिनअघि नै उपनेता समक्ष अविश्वासको प्रस्तावपत्र दर्ता गराइसकिएको महतोले जानकारी दिए । 


जनकपुरधाम वडा नम्बर- ४ स्थित प्रदेश २ को नेकपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड-नेपाल पक्षीय नेताहरूले विभिन्न ८ वटा निर्णय पारित गरेका छन् । निर्णयअनुसार प्रदेश २ का ८ वटै जिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध संघर्षका कार्यक्रम संचालन गरिनेछ । 

 

ओलीविरोधी आन्दोलनलाई प्रभावकारी बनाउन नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज विश्वनाथ साहको नेतृत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन भएको छ ।

 

नेकपा प्रचण्ड-नेपाल समर्थक सहसंयोजक नागेन्द्र चौधरीले प्रत्येक जिल्ला, स्थानीय तह र वडाहरूमा संघर्ष समिति गठन गरेर १८ देखि २४ पुससम्म आन्दोलनका कार्यक्रम तय गरिएको बताए ।

 

उनका अनुसार जिल्ला र स्थानीय तहको अवस्थाअनुसार संघर्षका विभिन्न कार्यक्रम संचालन गर्ने, जनसंगठनका काम व्यवस्थापन र संचालन गर्ने, प्रचारप्रसार व्यवस्थापनको जिम्मा प्रदेश २ कार्यालयलाई दिने र २५ पुसमा सिरहाको वस्तीपुरमा जयगोविन्द साहको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिनेछ ।

 

पत्रकार सम्मेलनमा प्रदेश २ मा रहेका ६४ केन्द्रीय समिति सदस्यमध्ये ४५ जना, प्रदेश कमिटीका २१४ सदस्यमध्ये १३४ आफूहरूको पक्षमा रहेको चौधरीले दाबी गरे । यस्तै, १२ जना सदस्य तटस्थ रहेको उनको भनाइ छ ।


प्रतिनिधिसभा सदस्य १६ मध्ये ११ जना, राष्ट्रियसभा सदस्य ४ मध्ये २ जना र प्रदेश २ का प्रदेशसभाका ३२ मध्ये २० सदस्य आफूहरूसँगै रहेको चौधरीले बताए ।

 

पत्रकार सम्मेलनमा दाहाल-नेपाल समूहको नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, प्रदेश २ सहइन्चार्ज, सहसंयोजकलगायत पदाधिकारी उपस्थित थिए ।

 

बिहीबार नेकपाको प्रचण्ड-नेपाल समूहले जनकपुरमा प्रादेशिक बैठक र पार्टीको प्रशिक्षणसमेत संचालन गरेको थियाे ।