close

औद्योगिक विकासमा स्थानीय सरकारको साथ खोज्दै उद्योगी 

औद्योगिक विकासमा स्थानीय सरकारको साथ खोज्दै उद्योगी 

Trulli
ADVERTISEMENT

रूपन्देही- उद्योगी, व्यवसायीको छाता संगठन रूपन्देही उद्योग संघले जिल्लाभरिका सबै पालिकामा आफ्ना गतिविधि अगाडि बढाउन सुरु गरेको छ । 

 

रूपन्देहीको औद्योगिक विकासका लागि स्थानीय सरकारसँग सहकार्य र साझेदारी गर्ने उद्देश्यले संघले यस्तो अभियान थालेको हो । अभियानको पहिलो कार्यक्रम कञ्चन गाउँपालिकास्थित दानापुर तालबाट सुरु गरिएको छ । 


औद्योगिक विकासमा स्थानीय सरकारको भूमिकाका विषयमा स्थानीय सरकारका प्रमुख र पदाधिकारीसँग छलफल गरी सम्भावनाको पहिचान गर्ने र उद्यमीलाई त्यस क्षेत्रमा लगानीका लागि प्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको संघका अध्यक्ष बाबुराम बोहराले जानकारी दिए ।


‘सम्बन्धित पालिकाहरूमा रहेका स्रोत र सम्भावनाको पहिचान गरी घरेलु तथा साना, पर्यटन एवं कृषिजन्य उद्योगको विकास र विस्तारका लागि यो अभियान प्रभावकारी हुनेछ’, बोहराले भने ।

 

कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गाउँपालिकामा पर्यटन र कृषिजन्य उद्योगको सम्भावना भएकाले उद्योग स्थापनाका लागि आग्रह गरे ।


संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका सबै पालिकाहरूमा औद्योगिक सम्भावनाको खोजी गरिने र स्थानीय स्रोत-साधनको प्रयोग गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन परिसंघले सहकार्य गर्ने जानकारी दिए ।


कार्यक्रममा रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठकले विगतमा संघले औद्योगिक विकासमा खेलेको भूमिकाबारे आप्mना धारणा राखे ।

 

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले कानुनको परिधिमा रहेर गाउँपालिकाले औद्योगिक विकासमा जस्तोसुकै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । 


संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेलले स्थानीय कृषि उत्पादनको व्यवसायिकीकरण, पालिकाहरूमा औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको स्थापना, स्थानको पहिचानजस्ता कार्यमा यो अभियानले सहयोग पुर्‍याउने बताए ।


स्थानीय सरकारसँग समन्वय गरी औद्योगिक विकासमा सहकार्य, उद्यमशीलता विकास, रोजगारी सिर्जना, औद्योगिक ग्राम स्थापना एवं कृषि अनि पर्यटन प्रवर्द्धनका लागि संघले जिल्लाका १६ वटै तहमा अभियान सञ्चालन गर्ने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए ।