close

प्रवक्ताको दावीः लुम्बिनी सरकारलाई कसलै हल्लाउन सक्दैन 

प्रवक्ताको दावीः लुम्बिनी सरकारलाई कसलै हल्लाउन सक्दैन 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका छन् । केन्द्रमा प्रधानमन्त्री केपी ओली र माधव नेपाल÷पुष्पकमल दाहाल नेकपामा विभाजित भइरहेका र प्रदेशका सरकारहरू हल्लिरहेका बेला प्रवक्तासमेत रहेका चौधरीले लुम्बिनी प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका हुन् । 

 

प्रचण्ड-माधव समूहका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको जिकिर छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालमा पुगेकाले त्यहाँबाट आउने निर्णय आफूहरूलाई स्वीकार्य हुने उनले बताए ।

 

‘प्रदेशका प्रचण्ड-नेता नेपाल समूहका सांसदहरूले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको मत जाहेर गरेका छैनन् । तयारी भएको पनि सुनिएको छैन । त्यस कारण प्रदेश सरकार फेरबदल वा मन्त्रिमण्डल पुनर्गठन तत्काल हुँदैन’, चौधरीले भने । 

 

‘पूर्वमाओवादीका ५ सांसद हाम्रो कित्तामा आउँदै छन्’

 

बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले नेकपाको संस्थापन पक्ष ओली नेकपा समूह भएकाले सांसदहरूले कित्ताकाट गर्न थालिसकेको दाबी गरे । 

 

उनले भने,‘हिजो एमएसजी हाम्रो कित्तामा खुलेरै आउनुभयो । अब पूर्वमाओवादीका ५ देखि ७ जना सांसद पनि आउँदै छन् । त्यसैले सरकार अल्पमतमा छैन, सुरक्षित छ ।’


प्रदेश सरकारको काम-कारबाही प्रभावकारी बनाउन मन्त्रालय फुटाउन सकिने र मन्त्री थप्न पनि सकिने उनले बताए । तत्काल प्रदेशसभा बैठक र स्थायी राजधानी तोकिएको दाङमा जाने सम्भावना नभएको मन्त्री चौधरीले जानकारी दिए ।


बोल्यो प्रदेश कांग्रेस : आवश्यक परे नेतृत्व लिन तयार छौँ 

 

लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले नेकपाको लडाइँले जनतामाथि धोका भएको बताएकी छन् । आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेकोसमेत उनको धारणा छ । क्षेत्रीले प्रदेशसभा बैठक तत्काल बोलाउनसमेत आग्रह गरिन् ।

 

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे ।