close

नेकपा विभाजनपछि भक्तपुरका जनप्रतिनिधि को कता?

नेकपा विभाजनपछि भक्तपुरका जनप्रतिनिधि को कता?

Trulli
ADVERTISEMENT

भक्तपुर- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै मुलुकभर चुनावी माहोलसँगै त्यासको विरोधमा कार्यक्रम हुन थालेका छन् ।


प्रतिपक्षी दल नेपाली काँग्रेससहित नेकपाकै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल खेमाले देशभर संसद विघटन विरुद्ध प्रर्दशन जारी राखेका छन् ।

 

नेकपाको ओली खेमाले स्थानीय तहपिच्छे  नगरस्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ भने दाहाल नेपाल पक्षले पनि कार्यकर्ता भेला गर्दै आएको छ । दुवै पक्षले एकले अर्कोलाई गाली मात्रै होइन, कार्यकर्ता तानातानको आरोप समेत लगाउँदै आएका छन् ।


भक्तपुरको चार वटै स्थानीय तहमा ओली पक्षधरले अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ । भक्तपुरको चार स्थानीय तहमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ ओली पक्षधरका हुन् भने उपप्रमुख अन्जनादेवी मधिकर्मी नेपाली काँग्रेसवाट निर्वाचित हुन् ।


भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसहितका सवै जनप्रतिनिधि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का छन् ।


सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र उपप्रमुख जुना बस्नेत पनि ओली खेमामै खुलेका छन् भने अधिकांश वडाध्यक्ष ओलीकदमको पक्षमा देखिन्छन् ।


चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भने आफू तटस्थ रहेको बताउँदै आएका छन् । उपप्रमुख विना वास्तोला ओली खेमामा लागेकी छन् । ९ वटा वडा मध्ये ४ वटा नेकपा, ४ वडा काँग्रस र एक वडाध्यक्ष नेमकिपाका छन् । नेकपाका दुई वडाध्यक्षमध्ये दुई जना संसद विघटनको पक्षमा छन् भने दुई वडाध्यक्ष संसद विघटनको विपक्षमा खुलेका छन् ।


दुई वटा निर्वाचन क्षेत्रमा विभाजित भक्तपुर जिल्लामा चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाबाहेक अन्य तहमा नेकपा एमालेको वर्चस्व छ । विघटन भएसँगै दुई समूहमा विभाजित भएको नेकपा भक्तपुरमा भने ओली खेमा बलियो छ ।


ओली पक्षधरका नेता तथा कार्यकर्ताले आफ्नो पक्षमा ७० प्रतिशत जनता रहेको दावी गर्दै आएका छन्  ।  जिसस प्रमुख नवराज गेलालले सबै नगरस्तरीय भेलाका आधारमा करिब ७० भूभाग तथा जनता नेकपाको संस्थापक पक्षमा रहेकोदावी गरेपनि प्रचण्ड–नेपाल पक्षले यसलाई अस्वीकार गरेको छ ।