close

फोहोरबाट मोहर कमाउँदै तिलोत्तमा नगरपालिका (भिडियो खबर)

फोहोरबाट मोहर कमाउँदै तिलोत्तमा नगरपालिका (भिडियो खबर)

ADVERTISEMENT

रूपन्देही- स्थानीय तहलाई टाउको दुखाइको विषय बनिरहेको फोहोरमैला व्यवस्थापन रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भने सहज भएको छ । नगरपालिका र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले फोहोरलाई ‘मोहर’ मा बदल्ने गरी काम सुरु गरेपछि फोहोरमैला व्यवस्थापन सहज हुँदै गएको हो ।


फोहोरमैला व्यवस्थापनको जिम्मेवारी वास सहकारीलाई दिएर नगरको दैनिक १० टन फोहर व्यवस्थापन थालिएको छ । सहकारीले करहिया सामुदायिक वनको सुखौला खोला उकास क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरेको छ ।


वनले आफ्नो गुरुयोजनामा समेटेर केन्द्र सञ्चालनका लागि झन्डै ५ बिघा जमिन उपलब्ध गराएको छ । 


फोहोरबाट मोहर निक्लिन्छ भन्ने उखान बल्ल स्थानीय सरकारले बुझ्न थालेका छन् । नगरभित्रको वास स्वास्थ्य सहकारीले हाल आफ्नो लगानीमा फोहोरमैला संकलनका लागि ४ वटा ट्रयाक्टर, एउटा कम्प्रेसर मेसिन र ३० जना कर्मचारीबाट काम सुरु गरेको छ ।

 

सहकारीले हाल वडा नम्बर ७, ८, ९ र १५ को फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । तत्काल वडा नम्बर ११ र क्रमशः सम्पूर्ण नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्ने सहकारीको योजना छ । 


हाल तिलोत्तमामा वडा नम्बर २ ले आफ्नै व्यवस्थापन र बाँकी १ देखि ६ वडाको फोहोर निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन गर्दै आएका छन् । निजी क्षेत्रसँगको सम्झौता अवधि सकिएसँगै सबै वडाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी वास सहकारीलाई दिने नगरपालिकाको तयारी छ । 


नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनका लागि ट्रस, पहुँच मार्ग, खोलामा रिटेनिङ वाल, विद्युत्को व्यवस्था मिलाइएको छ । कार्यक्षेत्र विस्तारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । 


हाल फोहोरमैला प्रशोधन केन्द्रमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सबै प्रकारका सिसा, धातु, पानीका बोतल, सेतो पोलोथिनलाई कम्प्रेसर मेसिनले थिची सानो आकार दिएर बेच्ने गरिएको छ । सहकारीले उपभोक्ताबाट फोहोरमैला व्यवस्थापन शुल्क उठाउन थालेको छ । 


सहकारीमा सदस्यतासमेत खुला राखिएको छ । एक व्यक्तिले न्यूनतम ५ हजारदेखि १ लाख रुपैयाँसम्मको सेयर लिन सक्छन् । 


समुदाय स्तरबाटै फोहोरमैला व्यवस्थापन हुन थालेपछि नगरपालिकाले यसलाई प्रोत्साहन गरिने जनाएको छ । खुला शून्य पोलोथिन अभियानमा रहेको तिलोत्तमाले फोहोरमैला प्रशोधन केन्द्रलाई थप सुदृढ गराउन सहयोग गर्ने भएको छ ।

 

प्रशोधन केन्द्रलाई नै दिगो रूपमा अत्याधुनिक फोहोरमैला व्यस्थापन केन्द्रको रूपमा अघि बढाउने योजना बनाइएको छ । थप पूर्वाधार निर्माणमा ६६ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सहकारीले १ करोडभन्दा बढी सेयरमार्फत जम्मा गरेको पैसा लगानी गरेको छ ।


सरसफाइमा यस क्षेत्रमै नमुना बनेको तिलोत्तमाले फोहोरमैला व्यवस्थापनलाई दिगो रूपमा अघि बढाउन थालेकामा नगरबासीले खुसी व्यक्त गरेका छन् । नगरबासी सेवाशुल्क तिर्न तयार रहेको तर फोहोरमैला व्यवस्थापन चुस्त हुनुपर्ने स्थानीयको मागलाई पनि नगरपालिकाले सम्बोधन गर्ने भएको छ ।