close

पर्यटक तान्न मर्स्याङ्दीको म्युजिक भिडियो

पर्यटक तान्न मर्स्याङ्दीको म्युजिक भिडियो

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पर्यटक वढाउन म्युजिक भिडियो निर्माण गरेको छ । समग्र गाउँपालिकाको चिनारी समावेश गरी म्युजिक भिडियो निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।


पर्यटकीय सम्भावना बोकेको पालिकाको थप पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरिएको हो । अन्नपूर्ण पदमार्गमा पर्ने गाउँपालिकालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसार र पर्यटकीय गतिविधि बढाउन म्युजिक भिडियोले सघाउ पुग्नेछ ।


मर्स्याङ्दीमा थुप्रै पर्यटकीय, ऐतिहासिक स्थल रहेकाले पर्यटकलाई लोभ्याउन म्युजिक भिडियो निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।


म्युजिक भिडियोमा गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका सबै पर्यटकीय तथा ऐतिहासिक स्थल समेटिएको छ । डा. हर्क गुरुङ पार्क, भक्ति थापाको समाधिस्थल, राष्ट्रकविको गाउँ पुस्तुन, पर्यटकीय गाउँ घनपोखरा, सिउरुङ, ताघ्रिङ, रक गार्डेन, खोलानाला, छहरा र गाउँले संस्कार–संस्कृतिलाई म्युजिक भिडियोमा समावेश गरिएको छ ।


गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको ८ लाख रुपैयाँबाट म्युजिक भिडियो निर्माण गरेको छ । म्युजिक भिडियो गुरुङ चलचित्रका नायक एवं वडा नम्बर ६ का स्थानीय विष्णु गुरुङको संयोजनमा निर्माण गरिएको हो ।


गाउँपालिका चिनारी गीतमा पालिकाभित्रकै कलाकारले स्वर दिएका छन् । भिडियोमा गाउँपालिकाकै कलाकारले अभिनय गरेका छन् ।


मस्र्याङदी गाउँपालिका वडा नम्बर ६ बाहुनडाँडाकी खुश्बु गुरुङले स्वर दिएकी छन् । ‘आउनू है मर्स्याङ्दी गाउँपालिका’ बोलको गीतमा मस्र्याङ्दी वडा नम्बर ५ घेर्मुकी सुनिता गुरुङको अभिनय देख्न सकिन्छ ।

 

६ मिनेटको म्युजिक भिडियोको निर्देशन कमल गुरुङ र भारती घलेले गरेका हुन् । वडा नम्बर ४ का वडाध्यक्ष सुमन गुरुङको शब्द रचना रहेको गीतको एरेञ्ज तेजेन्द्र गुरुङले गरेका हुन् ।