close

बाख्रा फार्ममा सम्वादः ग्राहक ४ लाख दिन्छु त्यो बोका दिनूस्, कृषकः अहँ बेच्दिन !

बाख्रा फार्ममा सम्वादः ग्राहक ४ लाख दिन्छु त्यो बोका दिनूस्, कृषकः अहँ बेच्दिन !

Trulli
ADVERTISEMENT

बागलुङ– मिहिनेत गर्ने व्यक्ति एकैजनाले धेरै क्षेत्रको काम भ्याउन सक्छ । जागिर, घरधन्दा र व्यवसाय सबैमा सफलता पाउन सक्छ भन्ने उदाहरण हुन् बागलुङ नगरपालिका–११ रायडाँडाका चिरन्जिवी केसी ।


पशु प्राविधिकको रुपमा वडा कार्यालयमा कार्यरत केसीले कार्यालय भ्याएर वार्षिक लाखौं कमाई गर्ने व्यवसाय पनि गरेका छन् । उनले चार वर्षदेखि व्यावसायिक बाख्रा फार्म चलाएका छन् । बाख्राबाटै वार्षिक ४ लाख बढी नाफा कमाउछन् ।


बोयर जातको बाख्रा पालेर उनले मनग्ये आम्दानी गरेका छन् । बोयर जातको बाख्रा धेरै तौल हुने र बजारमा माग पनि बढ्दै गरेकाले कमाइ राम्रो भएको उनी बताउँछन् ।


उनको फर्ममा अहिले १ सयवटा बाख्रा छन् । २ वटा ठूला बोका छन् । एउटा बोकालाई ४ लाख रुपैयाँसम्म तिर्नेहरु आएका छन् । तर उनले व्यावसायिक फर्म चलाएकोले बोका यी मूल्यमा बेच्न नचाएको बताए । ‘वडाभरि नै बाख्राको फर्म चलाउने अभियान बनाएका छौं, मेरोजस्तै हरेक घरमा फर्म बन्नुपर्छ’, केसीले भने, ‘बजारको समस्या नभएकोले किसानलाई ढुक्क भएर काम गर्न पनि भनेका छौं ।’ केसी पशु प्राविधिक भएकोले उपचारको लागि आफँ खटिन्छन् भने बागलुङ, पोखरा हुँदै र चितवनसम्म उनका ग्राहक छन् ।


स्थानीय खरि जातको बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् । यस्तो विधिले पाल्दा खरी जातको झै घाँस खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने गरेको उनले अनुभव सुनाए । केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यक्रममार्फत् तालिम पाएपछि ३ लाख लगानी गरेर २ वटा बोका र चारवटा माउबाट थालेको अभियानले उनी व्यावसायिक भइसकेका छन् ।


वडा नं. ११ रायडाँडा वडा कार्यालयले पनि बाख्रा बिशेष कार्यक्रम संचालनका लागि खाली भएको पाखो र बसाइ सरेकाहरुको घरबारी एकीकृत गरेर बाख्रा फर्म चलाउने अभियान चलाएको छ । ‘बाख्राका लागि किसानलाई एकजुट बनाउने र अनुदानको समेत खोजीमा लागेका छौं’, वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘जैविक कृषि सहकारी मार्फत हरेक घरमा शेयर सदस्य बनाउने र त्यसबाटै बाख्रापालनमा लगाउने काम पनि सुरु भएको छ ।’


गाउँभरी बाख्रा फर्म चलाउँदा बसाइ सरेका युवाहरु फर्केर आउने वातावरण बन्ने उनले बताए । घरै बस्नेगरी नआए पनि काम गरेर तलव पाउने गरी पनि मानिस फर्काउन सकिने उनले बताए ।

 

केसीका अनुसार रायडाँडामा मात्रै अहिले १७ वटा बाख्रा फार्म छन् । ती मध्ये १० वटा खरी बाख्राका छन् भने ७ वटा बोयरका हुन् । सबै फार्मले क्रमश बोयर पनि सँगै पाल्ने तयारी गर्दैछन् । ‘बोयर जातको बाख्राका लागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन, त्यसैले अब नयाँ बोका ल्याउने योजना छ’ उनले भने, ‘चितवन गएर नयाँ बोका ल्याउने तयारी छ ।’


रायडाँडामा ५ वटा बाख्रा पालन समूह छन् । ती सबै समूहमा आवद्ध किसानका लागि केसीले प्राविधिक सहयोग गर्नुपर्छ । पालैपालो किसानको घरमा पुग्ने, दिउँसो कार्यालयको काम गर्ने र बेलुकी आफ्नो घरको काम समेत उनले भ्याउने गरेको स्थानीय केयरसिंह थापाले बताए ।

 

‘रातिको १० बजेसम्म पनि उनले बाख्राको काम गरिरहेका भेटिन्छन्’, थापाले भने, ‘काम बिशेषले उनी कतै गए भने गाउँभरका किसानको काम रोकिन्छ ।’ सामान्य प्राविधिक काम भने केसीका भाइ दुर्गाले पनि सिकेका छन् । नियमित खोप, भिटामिन वितरण, बेलाबेला आउने अन्य समस्या समाधानका लागि केसी एक्ला प्राविधिक हुन् । ‘एक गाउँ एक प्राविधिक’ कार्यक्रम मार्फत ६ वर्षदेखि उनी कार्यरत छन् ।