close

कनकासुन्दरीको  कृषि क्षेत्रमा एक करोड बजेट, ओखर खेती प्रथामिकतामा 

कनकासुन्दरीको  कृषि क्षेत्रमा एक करोड बजेट, ओखर खेती प्रथामिकतामा 

Trulli
ADVERTISEMENT

जुम्ला- युवा रोगजार, रैथाने बाली संरक्षण र बाँझो जग्गा उपभोग गरी कृषिमा आत्मनिर्भर बन्नका लागि कनकासुन्दरी गाउँपालिकाले १ करोड रुपैयाँ खर्च गर्ने भएको छ । कृषिका सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने गरी बजेटको व्यवस्थापन गरेको हो ।

 

गाउँपालिका अध्यक्ष नरवीर रावतले भने, 'यहाँको सम्भावनाको क्षेत्र भनेकै कृषि क्षेत्र हो । सिँचाइ, मल, बिउ आपूर्तिका साथै व्यावसायिक योजना बनाएर कृषिमा बजेट खर्च गर्ने तयारी छ । युवा रोजगारी, अर्ग्यानिक रैथाने बालीको संरक्षण, बाँझो जग्गाको सदुपयोग हुने गरी कृषि क्षेत्रमा बजेट खर्च गरिनेछ ।'

 

कृषि क्षेत्रमा पनि ओखर खेतीलाई प्रथामिकता दिएर काम गर्ने योजना बनाएका छौँ, अध्यक्ष रावतले थपे, 'कनकनसुन्दरीमा ओखर खेतीका लागि उपयुक्त जग्गा धेरै छ । अन्य खेतीभन्दा ओखर खेतीमा दुस्ख धेरै नहुने तर आम्दानी धेरै हुने र कृषकलाई व्यावसायिक ओखर खेतीलाई प्राथमिकता दिएर बजेट खर्च गरिँदै छ ।'

 

कनकासुन्दरीकी उपाध्यक्ष उर्मिला खत्री भण्डारीले चालू आर्थिक वर्षमा पालिकाले ७० लाख र जलवायु अनुूुलनका लागि लापा संस्थाले ४० लाख गरी १ करोड १० लाख रुपैयाँ बजेट कृषिमा विनियोजन भएको बताइन् ।  

 

उनले १ करोड १० लाख रुपैयाँका कृषि कार्यक्रम कसरी संचालन गर्ने भन्नेबारे योजना बनाई अधिकांश किसानबीच सम्झौता भइसेकेको उल्लेख गरिन् । व्यावसायिक ओखर खेतीलाई प्रथामिकता दिँदै बाख्रा पालन, कुखुरा पालन, व्यावसायिक तरकारी खेतीलगायतका क्षेत्रमा बजेट छुट्याएको उनको भनाइ छ ।

 

साथै, कनकासुन्दरी गाउँपालिकाले आफ्नो साढे ३ वर्षे कार्यकालमा लक्ष्यअनुसारका पूर्वाधार विकास गर्न नसकेको समेत बताइएको छ । सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, वडा भवन, बिजुलीको विकास भए पनि लक्ष्यअनुसार द्रुत विकास नभएको हो । 

 

अध्यक्ष रावतले भने, 'पालिकामा करोडौँ बजेट आउँछ । उपभोक्ता समितिका कारण देखिने खालको विकास योजना बनाउन सकेका छैनौँ । करोडौँ लगानी गर्र ठूलो योजना बनाऊ भन्दा उपभोक्ता मान्दैनन् । बाध्य भएर टुक्रे योजनामा लगानी गर्नुपर्छ ।'