close

किसानलाई बिचौलियाबाट बचाउन तरकारी बिक्री केन्द्र 

किसानलाई बिचौलियाबाट बचाउन तरकारी बिक्री केन्द्र 

Trulli
ADVERTISEMENT

झापा- झापाको मेचीनगर नगरपालिका कृषि र पर्यटनको हिसाबले सम्भावनायुक्त क्षेत्र हो । कृषिका लागि पर्याप्त सम्भावना भए पनि स्थानी किसानले उत्पादन गरेको तरकारी बिचौलियालाई थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।

 

यही समस्यालाई लक्षित गरी मेचीनगरको १३ नम्बर वडाले वडा क्षेत्रमा सब्जीको भण्डारण र बिक्रीका लागि ३९ वटा सटर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

 

अहिले सब्जी बजारको रूपमा चारआलीमा हटिया लाग्ने गरेको छ । त्यो स्थानमा रहेको १ बिघा जग्गामा वडाले ४ वटा सटर निर्माण गरेको र बाँकी सटर निर्माणको योजना सुरु भएकोे वडाध्यक्ष कृष्णराज सिक्देलले बताए ।

 

‘हालको आइतबारे बजारलाई धुलाबारी माविको जग्गामा सारिसकेका छौँ । आइतबारेमा रहेको १ बिघा जग्गामा सटर निर्माण सुरु भएको छ’, अध्यक्ष सिक्देलले भने । 

 

निर्माण हुने ३९ वटा सटरमा त्यहाँका टोल विकास संस्थालाई एक-एक वटा प्रदान गरिनेछ । स्थानीय उत्पादन बिक्री वितरणका लागि प्राथमिकता दिने वडाको योजना छ ।

 

वडाले आप्mनो क्षेत्रभित्र उत्पादित खाद्यान्नदेखि तरकारीलगायत उत्पादन व्यवस्थित रूपमा बिक्री गरी किसानको आम्दानी बढाउने योजना अगाडि बढाएको वडाध्यक्ष सिक्देल दाबी गर्छन् । सटर निर्माणपछि समिति बनाएरै खाद्यान्न र तरकारी बिक्री गरिनेछ ।

 

चारआली सब्जी मण्डी भनेर चिनिएको हालको आइतबारे सब्जी बजारमा पाँचथर, इलाम हुँदै भारतबाट समेत तरकारी आयात हुने गरेको छ । यहाँबाट प्रदेश १ का विभिन्न भागमा तरकारी निर्यात हुन्छ । 

 

यहाँ १ सिजन पहाडी भेगबाट तरकारी सब्जी आयात हुन्छ भने अर्को सिजन यहाँबाट पहाडी भेगमा तरकारी बेच्ने गरिएको छ । योसँगै तराईका विराटनगर, इटहरी, धरान, दमकलगायत क्षेत्रमा यहाँबाट तरकारी बिक्रीका लागि लैजाने गरिएको छ । 

 

विषादीरहित तरकारी उत्पादनका लागि वडाले सबै टोल विकास संस्थालाई प्लास्टिक टनेलसँगै तालिमसमेत दिनेछ । 


पर्यटकीय विकास योजना बुनिँदै 


पूर्वको फेवातालको रूपमा चिनिएको निचाझोडा सीमसार क्षेत्रलाई विकास गरेर त्यहाँ घरबास (होमस्टे) निर्माण गर्ने योजना रहेको वडाध्यक्ष कृष्णराज सिक्देलले बताए । 

 

आन्तरिक पर्यटकको विकासमा लागि १३ नम्बर वडाले काठमाडांैको १३ नम्बर वडासँग मितेरी सम्बन्ध गाँस्ने प्रक्रिया अगाडी बढाएको छ ।

 

आफ्नो वडाका नागरिकलाई काठमाडाैं महानगरको वडा नम्बर १३ का नागरिकको मितेरी कार्ड उपलब्ध गराउने र यहाँका नागरिकको मितेरी कार्ड काठमाडाैं पठाउने तयारी भइरहेको वडाध्यक्ष सिक्देलले जानकारी दिए ।


काठमाडौंको १३ नम्बर वडामा रहेको कालीमाटी तरकारी थोक बजारमा मेचीनगरको एउटा स्टल मितलाई माग्ने र यहाँ पनि एउटा स्टल मितलाई दिने सहमत गराउने वडाको योजना छ ।