close

कोरोनाले रोजगारी गुमाएकालाई सिरिजंघाको अनुदान

कोरोनाले रोजगारी गुमाएकालाई सिरिजंघाको अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर फर्किएकालाई समूहगत रूपमा अनुदान दिने भएको छ ।

 

कोरोना महामारीका कारण कारण वैदेशिक रोजगारी गुमी गाउँ फर्किएका प्रत्येक वडाका कम्तीमा ३ जनाको समूहले एकआपसमा मिली व्यवसाय गर्ने गरी व्यावसायिक कार्ययोजनासहित उपस्थित भए गाउँपालिकाले लगानी गर्ने भएको हो । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार यस्तो समूह गठन गर्दा सम्बन्धित वडाका वडाध्यक्षको रोहबरमा गर्नुपर्नेछ । यसअघि समूह दर्ता गरी विगतदेखि नै सामूहिक रूपमा उद्यम गर्दै आएका उद्यमी वा व्यक्तिगत उद्यम सञ्चालन गर्दै आएका उद्यमीले पनि अनुदानका लागि आवेदन दिन सक्नेछन् ।

 

प्राथमिकता भने कोभिड-१९ का कारण वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएकालाई दिइनेछ । गाउँपालिकाले यस्तो अनुदानका उपलब्ध गराउन ५ वटा प्राथमिकता क्षेत्र निर्धारण गरेको छ ।

 

फर्निचर उद्यम, कृषि उद्यम, नेपाली हाते कागज उत्पादन गर्ने उद्यम, स्थानीय बाँस तथा काठ प्रयोग गरी निर्माण हुने बाँस तथा काठजन्य सामग्री उत्पादन गर्ने उद्यम र स्थानीय स्रोत सामग्री मात्र प्रयोग गरी उत्पादन हुने अन्य उद्यम कार्यका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउनेछ ।

 

गाउँपालिकाले गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत अनुदान उपलब्ध गराउन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ समेत बनाएको छ । सिरिजंघाको नियमित गाउँ अधिवेशनले कार्यक्रमका लागि प्रत्येक वडामा ५-५ लाख रुपैयाँ रहने गरी ८ वटा वडाका लागि ४० लाख विनियोजन गरेको छ ।

 

विनियोजित रकम कार्यान्वयनमा एकरूपता र पारदर्शिता कायम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन कार्यविधि बनाएर कार्यान्वयन चरणमा लगेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । 

 

लक्षित व्यक्ति तथा समूहलाई सम्वन्धित वडा समितिको निर्णयबमोजिम भौतिक पूर्वाधार निर्माण अनुदान वा वस्तुगत अनुदान वा नगद अनुदानमध्ये कुनै एक अनुदान उपलब्ध गराइनेछ । त्यसका लागि लक्षित व्यक्ति वा समूहअनुसार फरक-फरक फाराम भरी २२ माघभित्र गाउँ कार्यपालिकामा आवेदन दिइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।